केन्द्रीय बैंकहरुले ब्याजदर बढाउँदा आर्थिक मन्दी हुनसक्छ: विश्व बैंक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – मुद्रास्फीति नियन्त्रण गर्न फेडरल रिजर्भ लगायतका केन्द्रीय बैंकहरुले आक्रमक रुपमा ब्याजदर बढाउँदा सन् २०२३ मा आर्थिक मन्दी हुने चेतावनी विश्व बैंकले दिएको छ । पछिल्लो समय विश्वव्यापी रुपमा अधिकांश केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाइरहेका छन् ।

पछिल्लो ४० वर्ष यताकै उच्च बिन्दुमा पुगेको मुद्रास्फीति नियन्त्रण गर्न विकासीत मुलुकहरुका केन्द्रीय बैंकहरुले पाँच दशक यताकै उच्च हुनेगरी ब्याजदर बढाइरहेका छन् । ब्याजदर वृद्धि हुँदा कर्जा लिन थप समस्या उत्पन्न हुने र खाद्य तथा अखाद्य वस्तुको मूल्य थप बढ्ने विश्व बैंकले जनाएको छ । यसैगरी कर्जाको ब्याज दर उच्च हुँदा मानिसहरु कर्जा लिई व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुने हुँदा आर्थिक गतिविधि सुस्त हुने विश्व बैंकले जनाएको छ ।

बैंकले उक्त चेतावनी अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ, बेलायती केन्द्रीय बैंक–बैंक अफ इङ्गल्यान्ड र बैंक अफ जापानको मौद्रिक नीति निर्माण सम्बन्धी बैठक बस्नुअघि दिएको हो । विश्व अर्थतन्त्र सन् १९७० को आर्थिक मन्दी पछिको जीर्ण अवस्थामा पुगेको र बलियो अर्थतन्त्र मानिएका राष्ट्रहरु-अमेरिका, चीन र युरोपको आर्थिक वृद्धि दर घट्दो क्रममा हुनाले विश्वव्यापी अर्थतन्त्र अनिश्चिततातर्फ धकेलिएको विश्व बैंकले जनाएको छ ।

आर्थिक मन्दीको सम्भावना उच्च रहेको जानकारी गराउँदै विश्व बैंकले केन्द्रीय बैंकहरुलाई सहकार्य गरी अघि बढ्न र मौद्रिक नीतिलाई प्रष्ट रुपमा लागू गर्न सुझाव दिएको छ । तथापि केन्द्रीय बैंकहरु स्वायत्त संस्था रहेका कारण आफ्ना समकक्षीहरुसँग मिलेर नीति बनाउँदैनन् । रुस–युक्रेन बीचको युद्ध लम्बिँदै जाँदा खाद्यान्न तथा इन्धनको मूल्य बढ्दै जाने हुँदा मूल्यवृद्धि नियन्त्रणमा केन्द्रीय बैंकहरु एकजुट भई अघि बढ्नुपर्ने वर्ल्ड बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array