लामो तथा मध्यम दूरीको बसको अग्रिम टिकट बुकिङ खुल्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
यसवर्षको दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात व्यवस्था विभागका अनुसार आजदेखि टिकट बुकिङ खुला गरेको हो ।
यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्न सक्ने छन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ ।
यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति गरेका थिए । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने गराउने सहमति भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शनिवार बिहानदेखि लामो तथा मध्यम दूरीको बसको टिकट खुल्ने जानकारी दिए ।
अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गरिने विभागले जनाएको छ ।
अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिद्वारा टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने तथा दशैंका लागि आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array