पोखराको विन्ध्यवासिनी मन्दिरमा भेटी संकलनमा कमी; नवदुर्गा महोत्सव २०७९ हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा संकलन हुने भेटीमा पछिल्लो समय धेरैले कमी आएको छ । पछिल्लो समय मन्दिरमा भेटी सङ्कलन कम हुँदै गएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । आम्दानीको मुख्य स्रोत नै भेटी भएकाले कोरोनाका कारण यसमा ह्रास आएको उनको भनाइ थियो ।
कोरोनाभन्दा अघि दैनिक रु एक करोडदेखि डेढ करोड आम्दानी हुने गरेकामा पछिल्लो समय घटेर रु ६० हजारको हाराहारीमा पुगेको छ । भक्तजनले चढाएको भेटीबाटै समितिले पुजारी र कर्मचारी व्यवस्थापनसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको थियो । मन्दिरमा १० पुजारी र व्यवस्थापनमा ४५ कर्मचारी छन् ।
यसैबीच विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ हुने भएको छ । समितिको आयोजनामा असोज १० गते (घटस्थापनां)देखि नवमीसम्म उक्त महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा शोभायात्रा र श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
युवा पण्डित नारायण देवकोटाले सङ्गीतमय झाँकीसहित कथा वाचन गर्नुहुने सो महोत्सवमा नवमीदेखि प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म र मध्याह्नदेखि अपराह्न ४ बजेसम्म महायज्ञ हुने बताए ।
पहिलो दिन देवीका नौ रुपस्वरुप नव कन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सङ्घसंस्थाको उपस्थितिमा शोभायात्रा गर्दै महोत्सव सुरु गरिने छ । महोत्सव अवधिभर रात्रिकालीन आरतीसमेत गरिने भएको छ ।

विजया दशमीको दिन बिहान ४ बजेदेखि नित्य पूजा आरम्भ भई ५ बजेदेखि भक्तजनका लागि खुला गरिने समितिले जानकारी दिएको छ । धार्मिक पर्यटनको विकाससँगै विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भावमा टेवा पुग्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्