एसिया कप क्रिकेट: श्रीलंकाले भारतलाई ६ विकेटले हरायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ। दुबईमा मंगलवार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो ।भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कुशल मेन्डिस र पथुम निशंकाले अर्धशतक बनाए। मेन्डिसले ५७ तथा निशंकाले ५२ रन बनाए।

कप्तान दसुन शनकाले ३३ तथा भानुका राजपाक्षले २५ रन बनाए। भारतका लागि युजभेन्द्र चाहलले ३ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ७२ रनको अर्धशतकीय ईनिङ खेले । ४१ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा उनले ७२ रन बनाए ।

सुर्यकुमार यादवले २९ बलमा ३४ रन तथा हार्दिक पाण्ड्या र ऋषभ पन्तले १७/१७ रन बनाए । श्रीलंकाका लागि दिलशान मधुशंकाले ३ तथा चामिका करुनारत्ने र दासुन शनकाले समान २/२ विकेट लिए ।

सुपर चारमा श्रीलंकाको यो लगातार दोस्रो जित हो । भारतको भने लगातार दोस्रो हार हो । बुधवार हुने पाकिस्तान र अफगानिस्तानबीचको खेलमा पाकिस्तान विजयी भएमा भारतको फाईनल पुग्ने सम्भावना समाप्त हुनेछ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्