एसिया कपको सुपर ४ पूरा, पाकिस्तान १ सय ५५ रनले विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – पाकिस्तान १ सय ५५ रनले विजयी भएसँगै एसिया कपको ‘सुपर ४’ समीकरण पूरा भएको छ। १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको हङकङ १०.४ ओभरमा सबै विकेट गुमाएर ३८ रनमा समेटिएपछि पाकिस्तान सुपर ४ मा प्रवेश गरेको हो। हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकका रन जोड्न सकेनन्। पाकिस्तानका साहब खानले चार, मोहम्मद नवाजले तीन, नसीम शाहले दुई तथा शहनवाज दहानीले १ विकेट लिए।

त्यसअघि, युएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। उसका लागि मोहम्मद रिजवानले अविजित रहँदै सर्वाधिक ७८ रन बनाए। फकर जमान ५३ र बाबर आजम ९ रनमा आउट हुँदा खुस्दिल शाहले अविजित रहँदै ३५ रन जोडे। बलिङतर्फ हङकङका एसहान खानले दुई विकेट लिए।

अब सुपर ४ मा भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान भएका छन्। अब यी टीमबीच उपाधिका लागि शनिबारबाट प्रतिस्पर्धा हुनेछ। पाकिस्तान सुपर ४ मा प्रवेश गरेसँगै आइतबार पुनः भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि भारत र पाकिस्तानबीच गत आइतबार खेल भएको थियो। जुन ५ विकेटले भारतको पक्षमा गयो।

प्रतिक्रिया दिनुहोस्

Array