चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको पहिलो भ्रमण नेपालमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओले जिम्मेवारी सम्हालेपछिको पहिलो विदेश भ्रमणका लागि नेपाललाई रोजेका छन् ।

जुनको पहिलो सातादेखि मात्रै पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओले पहिलो विदेश भ्रमणका लागि नेपाल रोज्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूतावास स्रोतले भन्यो, ‘जिम्मेवारी सम्हालेपछि भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो मुलुकमा भ्रमण, भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने चलन छ । नेपाल त्यो प्रक्रियाको पहिलो देश भएको छ । यसको मतलब चीनले नेपाललाई प्राथमिकतामा राखेको छ भन्ने सन्देश दिन खोजिएको पनि हो ।

परराष्ट्र मन्त्रालयका अनुसार पनि चार दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेट गर्ने निश्चित भएको छ । साथै, सभामुख अग्नी प्रसाद सापकोटा सँग पनि उनको भेटघाट हुनसक्ने बताइएको छ भने अन्य भेटका कार्यक्रम अझैं तय भइसकेका छैनन् ।

विदेश विभाग प्रमुख जियानचाओले नेपालका प्रमुख राजनीतिक दलहरूको कुरा सुन्ने भनिएको छ । ‘सबै पार्टीसँग जुन प्रकारको सम्बन्ध छ त्यसै अनुसार विचार आदान प्रदान गर्न आउन खोजेको भन्ने भएपछि सोही अनुसार तयारी भइरहेको हो,’ दूताबास स्रोत भन्छ, ‘तर, वाम गठबन्धनलाई प्रोत्साहन गर्न खोजेको देखिन्छ ।’

स्रोतका अनुसार आगामी संघीय निर्वाचनमा मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीबीच सम्भव भए एकता र नभए वाम गठबन्धन बनाएर जाने वातावरण बनाउनु पनि उनको भ्रमणको उद्देश्य हो । ‘चिनियाँ चासो आगामी निर्वाचनमा दुई कम्युनिस्ट पार्टीबीच वाम गठबन्धन बनाएर जाउन भन्ने हो । त्यसका लागि पहिले पनि केही चरणमा अनौपचारिक संवादहरू भइसकेका छन्,’ स्रोतले भन्यो, ‘जियानचाओले नेपाल भ्रमणका क्रममा त्यसको वातावरण भए नभएको बुझ्ने हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्

Array