खोटाङमा  करोडौँको योजनाहरु परे पहिरोको जोखिममा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ असार २०७९, मंगलवार
2 Min Read
Aa

काठमाण्डौ । ठेकेदार कम्पनीको लापरवाहीले खोटाङ जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिरोको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर्माण सम्पन्न नहुँदै तथा कतिपय निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केही दिन नबित्दै वर्षाको पानीले भत्किन थालेका छन ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको रत्नपार्कमा निर्माण गरिएको ‘सपिङ कम्प्लेक्स’ र ‘चिल्ड्रेन पार्क’ को पर्खाल र मैदान सामान्य वर्षामै भासिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकासँगको साझेदारीमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ को लागतमा सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान निर्माण गरेको थियो । गत फागुन ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले कम्प्लेक्स र चिल्ड्रेन पार्क उद्घाटन गरेका थिए ।

यस्तै प्रदेश सरकारको अनुदानमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा निर्माण गरिएको कृषि हाटबजारको संरचना दुई हप्ता नपुग्दै भासिएको छ । पशु वधशालाका रूपमा प्रयोग गर्ने गरी तुवाचुङ कृषि हाटबजार निर्माण उपभोक्ता समिति मार्फत गत असार ४ गते निर्माण सम्पन्न गरिएको कृषि हाटबजारको संरचना दुई हप्ता नपुग्दै वर्षात्को पानीले भासिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको किराँत ऐतिहासिकस्थल मझुवागढीस्थित कालिका भगवती मन्दिरको टेवा पर्खालसमेत वर्षात्को पानीले भासिएको छ । मन्दिर निर्माणका लागि सम्याउने क्रममा फालिएको माटोमाथि लगाइएको पर्खाल गत शुक्रबार राति परेको अविरल वर्षाका कारण भासिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array