वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दायरा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०७९, सोमबार
2 Min Read
Aa

काठमाण्डौ । वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष देखि लागु हुने गरी सम्पत्ति करको दायरा घटाएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक २०७९ मा सम्पत्ति करको दर घटाएको हो ।

महानगरले हाल १० लाखसम्मको सम्पत्ति मूल्याङ्कनमा हुनेको हकमा वार्षिक एकमुस्ट २०० रुपैयाँ लिँदै आएकोमा यसलाई घटाएर २० लाखसम्म मूल्याङ्कन​ हुनेको हकमा एकमुस्ट २०० रुपियाँ निर्धारण गरेको छ । त्यस्तै सम्पत्ति करको मूल्याङ्कन दररेटमा १० लाखदेखि २० लाखसम्मको मूल्याङ्कनमा ५०० रुपैयाँ, २० लाखदेखि ५० लाखसम्म मूल्याङ्कनमा ०.०५ प्रतिशतलाई घटाएर ००४ प्रतिशत निर्धारण गरेको छ । ५० लाखदेखि १ करोडसम्मको सम्पत्ति हुनेको हकमा विगतको मूल्याङ्कन दर १० प्रतिशतलाई घटाएर ०.०९ कायम गरिएको महानगरको राजस्व शाखाले जनाएको छ ।

१ करोडदेखि २ करोडसम्मको मूल्याङ्कनको हकमा ०.२५ प्रतिशतलाई घटाएर ०.२३ प्रतिशत कायम गरेको छ । २ करोडदेखि ५ करोडसम्म मूल्याङ्कनको हकमा ०.५० प्रतिशतलाई घटाएर ०.४५ प्रतिशत र महानगरले अधिकतम् ५ करोड माथिको सम्पत्ति मूल्याङ्कनको हकमा नयाँ आर्थिक वर्षदेखि लागु हुने गरी ०.७० प्रतिशत करको दर निर्धारण गरेको छ यो दर हाल ०.७५ रहेको छ । महानगरले ल्याएको आर्थिक विद्येयकको आधारमा सम्पत्ति करको प्राविधिक मूल्याङ्कन वडाले गर्ने र कर भने महानगरको राजस्व शाखामा बुझाउनुपर्ने व्यवस्था छ ।

सामान्यतः सम्पत्ति कर घरजग्गा बैंकमा धरौटी राखेर आर्थिक कारोबार गर्नुपर्ने, अथवा छोराछोरी विदेश अध्ययन, अनुसन्धानका लागि पठाउनुपर्ने अवस्थामा मूल्याङ्कन गरेर राजस्व बुझाउने प्रचलन छ ।

साथै महानगरले सम्पत्ति कर मूल्याङ्कनमा ०.०२ प्रतिशत सेवा शुल्क लाग्ने,कुनै घर जग्गाधनीले सम्पत्ति लुकाई पछि तिर्न आएमा उक्त सम्पत्तिको मूल्याङ्कनमा ०.१० प्रतिशतका दरले जरिवाना लाग्ने उल्लेख गरिएको छ ।

चालु आवको पुस मसान्तसम्म बुझाउँदा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट, माघ देखि चैत मसान्तसम्म बुझाएमा चालु आवको कर रकममा ५ प्रतिशत छुट दिइनेछ समेत आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array