आगामी निर्वाचनमा एमाले, लोसपा र जनमतबीच गठबन्धनको गृहकार्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं । आसन्न संघीय र प्रदेशसभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन कायम रहेमा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टी मिलेर अर्को गठबन्धन बनाउने तयारी भइरहेको छ ।​ लोसपाले पहिलो प्राथमिकतामा काँग्रेस, जसपासहितको लोकतान्त्रिक गठबन्धनलाई राखेको छ । त्यसका लागि सो पार्टीले आवश्यक प्रयास पनि गरिरहेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै यसबारे ध्यानाकर्षण गराइसकेका छन् । तर सत्तारुढ गठबन्धन नटुट्ने सम्भावना देखेपछि लोसपाले अर्को गठबन्धन बनाउने गृहकार्य थालेको लोसपा सम्बद्ध एक नेताले बताए ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले हालै यिनै विषयमा रेशम चौधरीसँग छलफल गरेका छन् । जेलमा रहेका चौधरीलाई राउतले भेटेर चुनावमा तालमेल गर्न प्रस्ताव गरेका थिए । त्यसमा रेशम चौधरी पनि सकारात्मक रहेको बुझिएको छ ।

लोसपा र एमालेबीच चुनावी गठबन्धन हुने लगभग निश्चित भएको छ । त्यसमा सीके राउत नेतृत्वको जनमतलाई समावेश गराउन एमालेको प्रस्ताव छ । एमाले र जनमत पार्टीबीच यस विषयमा सामान्य छलफलसमेत भइसकेको र छलफल सकारात्मक रहेको जनमत पार्टीका नेताहरु बताउँछन् ।

लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले पनि आफूहरु गठबन्धन बनाउने मनस्थितिमा रहेको तर कुन दलसँग कसरी बनाउने भन्नेबारे गृहकार्य नभएको बताए । उनले भने, ‘गठबन्धनका लागि सबै दलसँग अनौपचारिक रुपमा कुराकानी भइरहेको छ तर यही दलसँग हुन्छ भन्ने निश्चित भएको छैन ।’

गठबन्धन आफूले चाहेरमात्र नहुने उनले प्रस्ट पारे । ‘यसका लागि दुवैतर्फबाट सहमति हुनुपर्छ, एजेण्डा र विचार पनि मिल्नुपर्छ, धेरै कुरामा सहमति हुनुपर्छ । अनिमात्र गठबन्धन बन्न सक्छ,’ उनले भने, ‘आगामी दिनमा पार्टीले यसको विषयमा स्पष्ट निर्णय लिन्छ ।’

जनमत पार्टीका महासचिव चन्दन सिंहले पनि गठबन्धनका लागि आफ्नो पार्टी खुला रहेको तर त्यसरी कुनै दलसँग औपचारिक सम्वाद नभएको बताए । केही दिन पहिलो सीके राउत र रेशम चौधरीबीच कुराकानी भएको स्वीकार गर्दै उनले दुई नेताबीचको छलफल सकारात्मक भएको बताए । त्यसबाहेक अन्य दलसँग त्यसरी कुराकानी नभएको उनले दाबी गरे ।

उनले भने, ‘गठबन्धनका लागि हामीले विकल्प खुला गरे पनि कुनै पनि दलसँग दस्तावेजकै आधारमा छलफल भएको छैन, चुनावको मिति घोषणा भएपछि यसले केही तीव्रता लिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: