बाढी र पहिरोले १२ जिल्लामा सडक अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०७९, बुधबार
3 Min Read
Aa

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोका कारण १२ जिल्लामा सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी (पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सिन्धुली, गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बीपी राजमार्गमा सडक अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ । त्यस्तै दार्चुलाको शैल्यशिखर नगरपालका–९ नक्तडीमा गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध भएको छ । मोरङको लेटाङ नगरपालिका–३ फायर लाइनस्थित लेटाङ कानेपोखरी सडकमा रुख लडेर सडक अवरोध भएको छ ।

बागलुङको गल्कोट नगरपालिका–७ आगाखेतमा सडक अवरुद्ध भएको छ । मंगलबार राति पहिरो गएर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । प्युठानको सरुमारानी गाउँपालिका–४ अँधेरी खोला र पाँकुरी खोलामा आएको लेदो सहितको पहिरोका कारण प्युठान भालुवाङ सडक खण्ड अवरुद्ध भएको छ । माण्डबी गाउँपालिका–५ चेरनेटामा बुधबार बिहान लेदो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्ग अवरुद्ध छ । सो ठाउँमा प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले आवश्यक समन्वय गरेर एकतर्फ सडक सुचारु गराएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१३ बगामो भेरे खोलामा आएको भेलका कारण सडक अवरुद्ध भएको छ । सो ठाउँमा रोल्पाको होलेरीबाट घोराहीतर्फ आउँदै गरेका ३ वटा सवारी साधन फसेका थिए । प्रहरीले २ वटा सवारी साधन निकालेको छ । एउटा डबल क्याप जिप निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । ढुंगा माटो सहितको लेदो पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नवलपरासी (पूर्व)को विनयीत्रिवेणी गाउँपालिका–१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठुलो खहरे र सानो खहरे खोलामा ३ वटा डाइभर्सन बगाएको छ । तीन वटा ड्राईभर्सन बगाउँदा पूर्वपश्विम राजमार्ग अवरुद्ध भएको छ ।

धनकुटा जिल्लाको धनकुटा नगरपालिका–९ सिम्सुवास्थित मुलघाटदेखि त्रिवेणी जाने सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । उदयपुरको कटारी नगरपालिका–१४ वनडाँडास्थित सिद्दिचरण राजमार्ग अवरुद्ध छ । उदयपुरको चौदण्डिगढी नगरपालिका–१० खैराझोडामा आएको ज्यामिरेखोलाको बाढीले सडक अवरुद्ध भएको छ ।

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका–१ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array