विश्व व्यवस्थाको विकल्प खोज्न थालिएको : न्यु वर्ल्ड अर्डर तर्फ को संकेत ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ असार २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले नेपाली अर्थतन्त्रमा मुद्रास्फिति र तरलता अभावजस्ता चुनौती देखिएको भन्दै सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित नेपालमा समाजवादको सम्भावना र चुनौती विषयक कार्यशालामा बोल्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले नेपाली अर्थतन्त्र दबाबमा रहेको बताए । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको नकारात्मक प्रभावका कारण विश्वव्यापी आर्थिक मन्दीको अवस्था आउन सक्ने पुनको आशंका छ ।

पुनले संविधानमै नेपाललाई समाजवाद उन्मुख उल्लेख गरिएको भन्दै राज्यले समाजवादका आधार निर्माण गर्ने गरी काम गर्नुपर्ने बताए । समाजवादको जग बसाल्न स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्यान्न र आवासमा जनताको अधिकार ग्यारेण्टी हुनुपर्ने उनको जोड छ ।

अहिले विश्व नै आर्थिक संकटको सम्भावित जोखिममा परेको तथा असमानता र विभेदको खाडल गहिरिँदै गएको भन्दै पुनले त्यसका लागि पुँजीवादी व्यवस्था जिम्मेवार रहेको तर्क गरे । विश्व व्यवस्थामा ठूलै परिवर्तनको संकेत देखा परेको बताउँदै उनले संसारभर पुँजीवादी विश्व व्यवस्थाको विकल्प खोज्न थालिएको बताए । ‘विश्वव्यापी रुपमा विभेद र असमानता बढेको छ । यो पुँजीवादी विश्व व्यवस्थामा आएको संकट हो’, पुनले भने, ‘मार्क्सले भन्नुभएको थियो, पुँजीवादी व्यवस्थाको असफलताको गर्भबाटै समाजवादको जन्म हुन्छ । त्यो समय अब आएको छ ।’

स्थानीय पालिकाहरुले आधारभूत स्वास्थ्य निःशुल्क गरेका छन् । प्रदेश सरकारले पनि केही ठाउँमा गरेको छ । समाजवादलाई रणनीतिक लक्ष्य बनाएर सामाजिक सुधार गर्नुपर्छ । पुनले उत्पादक शक्तिको विकास, उत्पादन वृद्धि तथा त्यसको न्यायिक वितरणमार्फत समाजवादको आधार निर्माण गर्नपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array