अछाममा विनोद शाही हत्या प्रकरणः अनुसन्धानका लागि कुकुरसहित प्रहरीको विशेष टोली परिचालन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ –  अछाममा हत्याको आशंका गरिएका विनोद शाहीको घटनाको सत्यतथ्य बाहिर ल्याउन घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १७ वर्षीय विनोद शाहीको हत्यारा पत्ता लगाउन प्रदेश प्रहरी कार्यालयले पठाएको सीआइबी टोलीले हत्या घटना अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरेको हो।

सीआइबी टोली आज कुकुरसहित घटनास्थल पुगेको छ। घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्तले शनिबार इलाका प्रहरी कार्यालयमा घेराबन्दी गरेका थिए।

प्रदर्शनको क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै हवाई फायरसमेत गरेको थियो। १० कक्षामा अध्ययनरत शाही हराएको पाँच दिनपछि शनिबार घर नजिकको जंगलमा शव भेटिएको थियो।

चुनावको विषयलाई लिएर कालिकास्थानमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच भएको झडपपछि उनी बेपत्ता भएको स्थानीयको भनाइ छ। घटनाले अहिले राजनीतिक रूप लिएको छ।

उनी एमाले निकट भएको बुझिएको छ। एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताबाट शाहीको हत्या भएको आरोप लगाएका छन्। प्रहरीले शाहीमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा देवेन्द्र शाही र मंगल शाहीलाई पक्राउ गरेको छ।

कृष्ण शाही, निराजन शाही, हिम्मत शाही, कमल शाही, भद्र शाही, राजेन्द्र शाही र विनोद शाही फरार भएको डीएसपी रविराज थपलियाले बताए।

प्रतिक्रिया दिनुहोस्

Array