अमेरिकी उपविदेशमन्त्री उज्रा जेया नेपाल आउने भएकी छिन्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० बैशाख २०७९, मंगलवार
2 Min Read
Aa

तिब्बत मामिला संयोजकसमेत रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जेया काठमाडौं आउने भएकी छिन् । भारतको धर्मशालास्थित तिब्बती धर्मगुरु दलाई लामासँग भेटवार्तासहितका कार्यक्रम सकेर उनी जेठ पहिलो साता नेपाल आउने तयारी छ । अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री जेया गत डिसेम्बरमा तिब्बत मामिला हेर्ने विशेष संयोजक तोकिएकी थिइन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनी ४ र ५ जेठमा हिमाचल प्रदेशको धर्मशालामा रहनेछिन् । जेयाले तिब्बती धर्मगुरु दलाई लामा, निर्वाचित तिब्बत सरकारका प्रमुख पेन्पा छिरिङसहितका अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिका भ्रमणमा रहेका वेला छिरिङले केही दिनअघि जेयालाई वासिङ्टनमा भेटेका थिए । जेया धर्मशालाबाट नयाँदिल्ली फर्केर नेपाल भ्रमणमा आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले अनौपचारिक रूपमा पुष्टि गरेका छन् ।

एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको नेपालका लागि उनको भ्रमण कूटनीतिक दबाबका रूपमा हुन लागेको नेपाली अधिकारीहरूको बुझाइ छ । ‘अमेरिकी उपविदेशमन्त्रीको भ्रमण ६ देखि ८ जेठका लागि तयारी भएको छ, तर अझै अन्तिम निर्णय हुन बाँकी छ,’ कूटनीतिक स्रोतले भन्यो । एक पूर्वपरराष्ट्रमन्त्रीले अमेरिकी अधिकारीको आसन्न भ्रमणलाई अत्यन्तै संवेदनशील भन्दै नेपालले परिपक्वता प्रदर्शन गर्नुपर्ने बताए । ‘उनीहरू स्पष्ट एजेन्डासहित आउँदै छन् । कहाँबाट नेपाल आउँदै छन् भन्ने कुरा महत्वपूर्ण र संवेदनशील छ, हामी एजेन्डाविहीन भएर बस्नुहुँदैन,’ उनले भने, ‘कूटनीतिक परिपक्वतामा तलमाथि भयो भने हामीलाई निकै अप्ठ्यारो पर्न सक्छ । ’

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्षका अवसरमा यो भ्रमण हुन लागेको अधिकारीहरूको भनाइ छ । ‘उनको भारत भ्रमण र त्यहाँ रहँदा उनका भेटवार्ताका सन्दर्भमा हाम्रो चासो छैन, उनीसँग हाम्रो छलफल नेपाल–अमेरिका सम्बन्धमा आधारित हुन्छ,’ जानकार एक नेपाली अधिकारीले भने, ‘हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौँ । चीन वा अन्य मामिला हामीले उनीसँग गर्ने कुरा हुँदैन । उनले भारत वा अन्य मुलुकमा गएर को–कोसँग के–के कुरा गर्छिन् भन्ने कुरा हामीले अध्ययन मात्रै गर्ने हो, हामी त्यसमा केन्द्रित हुने कुरा आउँदैन ।’ जेया भारतीय मूलकी अमेरिकी कूटनीतिक अधिकारी रहेको भारतीय सञ्चारमाध्यमको भनाइ छ ।

श्रोत

प्रतिक्रिया दिनुहोस्

Array