बेनी नगरपालिकाको उपप्रमुखमा एकै वडाका चार महिला भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ बैशाख २०७९, बिहीबार
2 Min Read
Aa

म्‍याग्दी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग-अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएका छन् । बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिएका हुन् ।

उपप्रमुखमा मनोनयन दर्ता गराउनेमा अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासी हुन्। बानियाँले नेपाली कांग्रेसबाट, शाहीले नेकपा (एमाले)बाट, लामिछानेले नेकपा (माओवादी केन्द्र) बाट र मुनाले नेकपा (एकीकृत समाजवादी)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

कांग्रेसबाट उम्मेदवार बनेकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुन् । २०५४ सालमा वडा नम्बर ९ अर्थुङ्गेको वडासदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गरेकी उनी कांग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छिन् ।

यस्तै एमालेबाट उपउप्रमुखमा उम्मेदवार दिएकी शाही पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष हुन् । गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत सङ्घसंस्थामा आबद्ध भई उनी सामाजिक कार्यमा क्रियाशील छिन्।

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य हुन् । उनले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी हुन् । २०६० सालदेखि राजनीतिमा सक्रिय उनी हाल विभिन्न सङ्घसंस्थामा आबद्ध छिन् । लामिछाने यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित भएकी थिइन् ।यस्तै एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हुन् । २०४८ सालदेखि राजनीतिमा सक्रिय रहेकी उनी यसअघि एमालेको प्रदेश कमिटी सदस्य थिइन् ।साभार अनलाईन खबर

प्रतिक्रिया दिनुहोस्