प्रतक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री: जसपा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा) शासकीय स्वरूपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री व्यवस्था गर्ने प्रतिबद्धतासहित चुनावमा जाने भएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारेको प्रतिबद्धता पत्रमा जसपाले भनेको छ, ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरूप सङ्घमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने तथा प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँका कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने ।’

संघीय संसद र प्रदेशसभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने पनि पार्टीको प्रतिबद्धता छ । जसपाले कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्य समय कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनौट गरी मन्त्रिपरिषद् बनाउने र ती मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञहरू मध्येबाट नियुक्त हुने जसपाले जनाएको छ ।

- Advertisement -
Ad image

जसपाले खस समुदायका लागि पनि आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेश गठन गरी खस र आर्यको अलग राष्ट्रिय पहिचान स्थापित गरिनुपर्ने प्रतिबद्धता पत्रमा जनाएको छ । खसान प्रदेशका जनतालाई समान अवसरका साथै खस समुदायलाई राज्यको सबै निकायमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने जसपाले प्रतिबद्धता जनाएको छ ।

थारु समुदायलाई छुट्टै समुदायको रूपमा उनीहरूको राष्ट्रिय पहिचान र अधिकार प्रत्याभूति गराउने उल्लेख गर्दै जसपाले संयुक्त राष्ट्र सङ्घको घोषणाअनुसार आत्मनिर्णयको अधिकार हुने प्रतिबद्धता पत्रमा जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्