काठमाडौँ – एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज बुधबार थाइल्याण्डको सामना गर्दैछ। भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले बलियो टोली थाइल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
थाइल्याण्डविरुद्ध नेपाल जित निकाल्दै सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै थाइल्याण्डलाई हराउन चाहन्छ । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जितकै लागि खेल्ने बताईसकेका छन् ।
“यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ। हामी सबै विपक्षी टिमलाई सम्मान गछौँ। कुनै पनि खेल सजिलो हुनेछैन। यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो,” मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा श्रेष्ठले भनेका थिए, “थाइल्याण्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ।’
छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो । छनोटमा नेपाल समूह एफमा रहेको छ । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।
नेपाली टोलीका कप्तान प्रशान्त लक्समले सबै खेलमा शतप्रतिशत मेहेनेत गरेर खेल्ने बताएका थिए । ‘सबै खेलमा शतप्रतिशत मेहेनत गर्नेछौँ। सबै खेलमा संयमता अपनाउनेछौँ,’ प्रशान्तले भनेका थिए । छनोट अन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।
छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्