राजीनामा नदिए राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारबाही गर्ने सभापति थापाको चेतावनी, तटस्थ बस्नेलाई भने नचलाउने
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहको समानान्तर महाधिवेशनमा सक्रिय भएर लाग्ने जनप्रतिनिधिहरूलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्। मङ्गलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले एउटै दलको दुईवटा महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका हुन्।
सभापति थापाले देउवा पक्षको गतिविधिलाई अर्कै पार्टीका रूपमा अर्थ्याउँदै कांग्रेसको ‘रुख’ चिह्नबाट निर्वाचित भएर अर्को समूहमा सक्रिय हुने जनप्रतिनिधिहरूलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेका छन्। राजीनामा नदिए पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम स्पष्टीकरण सोधेर पदमुक्त गर्ने कारबाही थालिने संस्थापन पक्षको तयारी छ। यद्यपि, कुनै पक्षमा नलागी तटस्थ बसेका जनप्रतिनिधिहरूलाई भने कारबाही नगरिने कांग्रेसले स्पष्ट पारेको छ।
संघीय संसद्का ९ सांसद देउवा पक्षमा खुले
कांग्रेस स्रोतका अनुसार संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी ९ जना सांसद देउवा पक्षको गतिविधिमा खुलेर लागेका छन्।
• प्रतिनिधि सभा : कांग्रेसका कुल ३८ सांसदमध्ये समानुपातिक सांसदद्वय हरिना देवी कामी र सुशिला ढकाल आचार्य देउवा पक्षमा सक्रिय हुनुहुन्छ। सांसदद्वय निनु कुमारी कर्ण र रीना उप्रेती भने तटस्थ देखिएका छन्।
• राष्ट्रिय सभा : कुल २४ सांसदमध्ये कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना र नारायणदत्त भट्ट गरी ७ जना देउवा पक्षमा खुलेका छन्। विष्णुदेवी पुडासैनी र चन्द्र केसी भने तटस्थ रहेको बताइन्छ।
प्रदेश सभाका २२ सांसद कारबाहीको जोखिममा
सातवटा प्रदेशमध्ये मधेश र कर्णालीबाहेक पाँच प्रदेशका २२ जना प्रदेश सभा सदस्य देउवा समूहको महाधिवेशन प्रक्रियामा संलग्न देखिएका छन् :
• बागमती प्रदेश (८ जना) : कुल ३६ सांसदमध्ये विमल ठकुरी, दिपेन्द्र श्रेष्ठ, श्याम खड्का, गोविन्द लम्साल, विनु रायमाझी, माया श्रेष्ठ, कञ्चन वादे र मसिना खड्का देउवा पक्षमा छन्।
• सुदूरपश्चिम प्रदेश (७ जना) : कुल १७ सांसदमध्ये कमलबहादुर शाह, मेघराज खड्का, प्रकाश बहादुर बम, डम्मरी महरा, सरस्वती खड्का, शिवराज भट्ट र मधु भारती खुलेका छन् भने विक्रम धामी र गीता चौधरी तटस्थ छन्।
• कोशी प्रदेश (३ जना) : कुल २९ सांसदमध्ये केदार कार्की, भूपेन्द्र राई र रामकुमार खत्री देउवा समूहमा सक्रिय छन्।
• गण्डकी र लुम्बिनी (२–२ जना) : गण्डकीका २७ मध्ये जीत शेरचन र दिपेन्द्र थापा तथा लुम्बिनीका २८ मध्ये रोज राणा र माया पुन देउवा पक्षमा खुलेर लागेका छन्।
• मधेश र कर्णाली (शून्य) : यी दुई प्रदेशमा देउवा पक्षको महाधिवेशनमा सक्रिय हुने प्रदेश सांसद कोही पनि नरहेको जनाइएको छ।
स्थानीय तहको पनि विवरण संकलन हुँदै
संघ र प्रदेशसँगै स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भई देउवा समूहको समानान्तर गतिविधिमा सक्रिय रहेका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूको समेत तथ्यांक संकलन भइरहेको कांग्रेस नेताहरूले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्