काठमाडौं – गृह मन्त्रालयले तिहारमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र सामाजिक सद्भाव कायम हुने गरी अनुशासित रूपमा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न दिन भनेको हो ।
मन्त्रालयले देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित हुनुपर्ने स्पष्ट पारेको छ । कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नहुने निर्देशन दिँदै विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायप्रति घृणा र द्वेष फैलाउने खालका अश्लील नृत्य, गीत, सङ्गीत तथा नाराको प्रयोगमा रोक लगाउन भनेको छ ।
त्यसैगरी, चाडपर्व मनाउने क्रममा जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारीसाधन नचलाउन आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले अत्यधिक ठुलो आवाजमा साउण्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन निर्देशन दिएको छ । सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न र जथाभावी फोहोरमैला नगर्न पनि सबैलाई सचेत गराइएको छ ।
गृह मन्त्रालयले देउसी–भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या उत्पन्न भएमा तत्काल प्रहरी नियन्त्रण कक्षको १०० नम्बर वा आपतकालीन कार्य सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न नागरिकलाई सूचित गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्