काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र पत्रकार रोशन खड्काबीचको सामाजिक सञ्जाल विवाद अन्ततः प्रहरीको रोहबरमा टुंगिएको छ।
भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो कार्यालयमा आइतबार दुवै पक्षबीच छलफल भई लिखित सहमति जुटेपछि शिवाकोटी ब्युरोबाट बाहिरिएका छन्।
प्रतिपक्ष दलका नेताका रूपमा सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने क्रममा शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा पत्रकार खड्का जोडिएको विषयलाई लिएर टिप्पणी गरेका थिए।
उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै खड्काले ब्युरोमा उजुरी दिएपछि यो विवाद कानुनी प्रक्रियामा पुगेको थियो। तिहार र लक्ष्मीपूजाको बिदाको समयमा समेत प्रहरीले लगातार ताकेता गरेपछि सहमहामन्त्री शिवाकोटी आइतबार दिउँसो आफैँ ब्युरोको कार्यालयमा उपस्थित भएका थिए।
ब्युरोमा भएको घण्टौँ लामो छलफलका क्रममा शिवाकोटीले विवादित विषयलाई लिएर आफ्नो भनाइ राखेका थिए भने दुवै पक्ष समझदारीको वातावरण बनाउन तयार भएका थिए। दुवै पक्षबीच अब उपरान्त सामाजिक सञ्जालमा एक-अर्काविरुद्ध अप्रमाणित र भ्रामक सामग्री पोस्ट नगर्ने लिखित सहमति भएको छ।
यदि कसैले यो सहमतिको उल्लंघन गरेमा साइबर ब्युरोले जुनसुकै बेला पुनः बोलाउन सक्ने सर्त समेत दुवै पक्षले स्वीकार गरेका छन्। आइतबार साँझ दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेसँगै यो विवाद तत्कालका लागि साम्य भएको छ।


प्रतिक्रिया दिनुहोस्