काठमाडाैं – तिथिको घटबढका कारण यस वर्ष तिहारको तेस्रो दिन कुकुर तिहार तथा नरक चतुर्दशी पर्व परेको छ। आजको दिन घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधना गरी मीठामीठा खानेकुरा खान दिएर सम्मान गरिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउनुपर्ने शास्त्रीय नियम रहेको छ।
धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई परिकार खुवाउँदा यमराजको ढोकामा द्वारपालका रूपमा रहने श्याम र सबल नामक कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको बताए।
वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको जनविश्वास छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग नलाग्ने जनविश्वाससमेत बढेको छ।
त्यस्तै, आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा स्नान गरी यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक मान्यता रहेको छ। यसरी बत्ती बगाउने परम्परालाई नरके बगाउने भनिन्छ। यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलनले शरीर स्वस्थ हुने आयुर्वेदिक मत पनि रहेको छ।


प्रतिक्रिया दिनुहोस्