सुनसरी – स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सुनसरीको बराहक्षेत्र नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र भाँडभैलो मच्चिएको छ। रास्वपा नगर सभापति कल्याण विष्टलाई सर्वमान्य ठानेर अगाडि बढिरहेको पार्टीभित्र एउटा फेसबुक स्टाटसले विभाजनकै स्थितिमा पुगेको छ।
वास्तवमा तीन दिनअघि पत्रकार सुबिन विश्वकर्माले हालै रास्वपा प्रवेश गरेका नेता विजय कुमार राउतको चर्चा गर्दै एक स्टाटस लेखेपछी त्यसले खैलाबैला मच्चिएको हो। पत्रकार विश्वकर्माले नेता राउत तीन वटा विषयमा स्नातकोत्तर गरेका, लामो समय शिक्षण पेशा गरेका र सबैभन्दा महत्त्वपूर्ण बराहक्षेत्र नगरको उन्नति गर्न भिजन भएकाले उनको कदर गरिनुपर्ने आसय व्यक्त गरेका थिए।
त्यसलगत्तै रास्वपा सुनसरीका जिल्ला नेता गोकुल थापाले पत्रकार विश्वकर्माको पोस्टलाई आफ्नो पार्टीभित्र विभाजन ल्याउन खोजेको भन्दै आपत्ति जनाए। उनले ५ भन्दा बढी भिडियो पोस्ट गरेर पार्टीभित्र सबैकुरा ठीक भएको जस्तो दाबी गरे। तर अरूले भाँड्न खोजेको उनको आरोप छ।
स्रोतकाअनुसार पत्रकार विश्वकर्माको पोस्टपछी रास्वपा बराहक्षेत्रमा यसरी हंगामा मच्चियो कि फलफूल व्यापारी स्थानीय नेता अर्जुन विष्टको पसलमा रास्वपाको आकस्मिक बैठक नै बस्यो। उक्त बैठकपछि स्थानीय नेताहरूले फेसबुकमार्फत् पार्टीभित्र सबै ठीक भएको भन्दै पोस्ट लेखे।
तर वास्तविकता त्यस्तो थिएन। खासमा रास्वपा बराहक्षेत्रमा नगर सभापति विष्ट आगामी स्थानीयतह निर्वाचनको लागि मेयरको उम्मेदवार बन्ने चर्चा थियो। कार्यकर्ता तहमा पनि उनको पकड बलियो थियो। तर जब सतहमा विजय राउत आए, त्यसपछि भने सबै भताभुंग भयो।
विजय राउतको चर्चापछि त विष्ट भर्सेस राउत मात्र भएन, बरू अर्को गुट पनि जन्मियो। त्यो हो, स्थानीय नेता दीपक अधिकारी गुट। नेता अधिकारीले फेसबुकमा ‘ट्रेलर देखाइएको अब फिल्म देखाइदिन्छु’ भनेर आफूलाई कम नआँक्न पार्टीपंक्तिलाई चेतावनी नै दिए। स्रोतका अनुसार मेयरको बलियो उम्मेदवारका रूपमा नेता अधिकारीको पहुँछ माथिसम्मै छ। उद्योगमन्त्री दीपक साहको नजरमा परेका अधिकारीले चाहेमा टिकट ल्याउनसक्ने बताइन्छ।
यस्तोमा सभापति विष्ट पक्षधर भने निकै सशंकित देखिएको छ। विभिन्न फेक अक्काउन्ट बनाएर कहिले विजय राउतलाई टिकट दिलाउन सुबिन विश्वकर्मा लागेको भन्दै पोस्ट लेखिरहेको देखिन्छ भने धेरैजसो चाहिँ नेता गोकुल थापामार्फत् विष्ट गुटले रक्षात्मक टिप्पणी गराइरहेको देखिन्छ। त्यसबाहेक ८ नम्बर वडाका रास्वपा पूर्वसचिव दिनेश विष्ट (गाउँले) मार्फत् राजकुमार विष्ट, कल्याण विष्ट, अर्जुन विष्ट र दिनेश विष्टको फोटो सार्वजनिक गरेर आफ्नो गुट बलियो भएको सन्देश दिन खोजेको बुझिन्छ।
समग्रमा यो समाचार तयार गर्दैगर्दा हामीले सम्पर्क गरेका आधा दर्जन स्थानीय नेताहरूले रास्वपा बराहक्षेत्रमा थुप्रै गुटहरू जन्मिएको स्वीकार गरे। खासगरी स्थानीय तहमा मेयरको उम्मेदवार को बन्ने ? भन्ने विषयले पार्टीमा एकले अर्काको विश्वास नगरेको उनीहरूको भनाई छ। एक नेताले नाम नबताउने शर्तमा भनेका छन्, ‘पहिला कल्याणजी नै उम्मेदवार बन्ने जस्तो थियो। तर एकाएक विजय राउत आएपछि केही नेताहरू अतालिएको देख्छु। दीपक सरको आफ्नै पावर छ भन्ने सुन्छु। सबैजना एकअर्कसँग डराएको परिस्थिति हो।’







प्रतिक्रिया दिनुहोस्