काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएका रोमाञ्चक खेलहरूमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले महत्वपूर्ण जित दर्ता गरेका छन्। आजको नतिजासँगै अंक तालिकामा ठूलो फेरबदल आएको छ, जहाँ सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा उक्लिन सफल भएका छन् भने लगातार चौथो हार बेहोरेको पोखरा एभेन्जर्सको प्लेअफ पुग्ने सम्भावना निकै न्यून बनेको छ।
दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा १७६ रनको बलियो योगफल तयार पारेको थियो। १७७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सले २० ओभरमा ७ विकेट गुमाएर मात्र १३७ रन बनाउन सक्यो।
कर्णालीका लागि विश्वप्रसिद्ध खेलाडी डेभिड मिलरले ९३ रनको उत्कृष्ट अविजित इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यो जितसँगै सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा सुरक्षित भएको छ।
यसैगरी आजै भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्समाथि ३० रनको सानदार जित निकाल्यो। पहिले ब्याटिङ गर्दै चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा मात्र १२१ रनमा समेटियो। पोखराका लागि अर्जुन कुमालले ४५ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्। चितवनका रिजन ढकालले ४ र कमलसिंह ऐरीले ३ विकेट लिँदै पोखराको इनिङ ध्वस्त पारे।
यो जितसँगै चितवन तेस्रो स्थानमा उक्लिएको छ भने प्रतियोगितामा खाता समेत खोल्न नसकेको पोखरा पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ।


प्रतिक्रिया दिनुहोस्