समाचार कक्षमै प्रहरी धरपकड: रास्वपासहितका ठूला दलद्वारा तीव्र विरोध, चौतर्फी दबाबपछि पत्रकारहरू रिहा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०८३, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – समाचार कक्षबाटै पत्रकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित नेपालका प्रमुख राजनीतिक दलहरूले तीव्र विरोध र भर्त्सना गरेका छन्।

सञ्चारगृहमा सोझै प्रहरी प्रवेश गरी विनापुर्जी पत्रकार पक्राउ गरिएको यो कदमलाई प्रमुख दलहरूले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको नाङ्गो हस्तक्षेप भनेका छन्।

- Advertisement -
Ad image

सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले एक विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा वा सोधपुछका नाममा पत्रकारमाथि धरपकड गर्नु संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनको ठाडो उल्लङ्घन भएको बताएका छन्। रास्वपाका सचेतक सन्तोष परियारले प्रहरीको यो कार्यशैलीलाई “पुलिस स्टेट” को संज्ञा दिँदै तत्काल यस्ता गतिविधि बन्द गर्न माग गरेका छन्।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले विज्ञप्ति निकाल्दै सञ्चारगृहभित्रै छिरेर प्रहरीले गरेको यो हस्तक्षेपले विगतको शाहीकालीन निरङ्कुशताको झल्को दिएको टिप्पणी गरेका छन्। नेकपा एमाले र अन्य राजनीतिक दलका नेताहरूले पनि यसलाई सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भन्दै घोर आपत्ति जनाएका छन्।

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ लगायतका सञ्चार सम्बद्ध संस्थाहरूले यस घटनालाई ‘राज्य आतंक’ भन्दै तत्काल कानुनी कठघरामा उभ्याइएका पत्रकारहरूको बिनासर्त रिहाइको माग गरेका थिए।

चौतर्फी दबाब, राजनीतिक दलहरूको विरोध र चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्री बालेन शाहको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएका ‘नेपाल प्रेस’का पत्रकार विश्वमणि सुवेदीलगायत सबै सञ्चारकर्मीहरूलाई रिहा गरिसकेको छ।

यस सङ्गीन मोडमा प्रधानमन्त्रीको सचिवालयले भने आफ्नो स्पष्टीकरण दिँदै यो धरपकड र पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता वा पूर्वजानकारी नरहेको दाबी गरेको छ। समाचार कक्षभित्रै प्रहरी पसेर पत्रकार समातिएको यो घटनाले यतिबेला राजनीतिक र नागरिक वृत्तमा ठूलो तरङ्ग पैदा गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्