काठमाडौँ – भारतको बिहार राज्यस्थित सिवान जिल्लाको आलमपुर गाउँमा शुक्रबार साँझ पटाका बनाउने क्रममा एक घरमा भीषण विस्फोट हुँदा सात जनाको दर्दनाक मृत्यु भएको छ। स्थानीय जामो थाना क्षेत्रमा पर्ने मो. अमीरुद्दीन मियांको घरमा अनुमति प्राप्त पटाका कारखाना सञ्चालन भइरहेका बेला अचानक आगो सल्किएर उक्त दुर्घटना भएको हो।
विस्फोट यति शक्तिशाली र भयानक थियो कि त्यसको कडा धक्काले दुई तले घरको अघिल्लो भाग पूर्ण रूपमा भत्किएर भग्नावशेष सडकसम्म छरिएको छ भने घरभित्र रहेका मानिसहरूको शव क्षतविक्षत अवस्थामा घटनास्थल आसपास फेला परेका छन्।
प्रारम्भिक विवरण अनुसार मृत्यु हुनेहरूमा पटाका व्यवसायीका परिवारका सदस्यहरू, जसमा पति, पत्नी र उनीहरूका छोरीहरूका साथै त्यहाँ कार्यरत मजदुरहरू समेत परेका छन्। घटनास्थलमा रहेका पटाकाहरूमा एकपछि अर्को गर्दै लगातार करिब दुई घण्टासम्म विस्फोट भइरहेकाले सुरुमा उद्धार टोलीलाई घरभित्र पस्न समेत निकै कठिनाइ भएको थियो।
विष्फोटको आवाजले सिङ्गो गाउँ नै आतङ्कित बनेको र ठूलो आगलागीका कारण शवहरू नराम्ररी जलेकाले पहिचान गर्न कानुनी र प्राविधिक चुनौती थपिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। सिवानका जिल्ला अधिकारी (डीएम) र प्रहरी उपरीक्षक (एसपी) सहितको टोलीले घटनास्थलमा पुगेर मलबेमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।


प्रतिक्रिया दिनुहोस्