नेपालमा भारतविरोधी राष्ट्रवादको युग समाप्त भयो : अर्थमन्त्री वाग्ले

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी भावनामा आधारित राष्ट्रवादको युग समाप्त भएको बताएका छन्।

भारतमा आयोजित एनडीटीभीको संवाद कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै नयाँ सरकारले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्‍याउन चाहेको बताएका हुन्।

- Advertisement -
Ad image

‘कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो। तर, त्यो युग अब समाप्त भएको छ,’ वाग्लेलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

मन्त्री वाग्लेले प्रधानमन्त्री बालेन शाह सन् २०२६ को अन्त्यसम्ममा भारत भ्रमणमा जान सक्ने पनि बताएका छन्। प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन्।

नेपालको राष्ट्रिय हित भारतको आर्थिक प्रगतिसँग निकट रूपमा जोडिएको उल्लेख गर्दै वाग्लेले दुई देशबीच व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार नेपाल र भारतबीच आर्थिक सहकार्य तथा व्यापारिक सम्बन्ध सुदृढ हुँदा दुवै देश लाभान्वित हुनेछन्।

नेपाल–भारत सम्बन्धलाई आपसी हित, आर्थिक सहकार्य र साझा समृद्धिको आधारमा अघि बढाउनुपर्ने सन्देश मन्त्री वाग्लेको अभिव्यक्तिले दिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्