काठमाडौं – बडादशैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज घर-घरका दशैंघर तथा पूजा कोठामा नवदुर्गाकी पाँचौँ रूप स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको उपासना गर्ने गर्दछन्।
दसैँको नवरात्रभर नवदुर्गाका नौवटा रूपको विशेष पूजा गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गरिन्छ। यसपछि क्रमशः छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने परम्परा छ।
‘स्कन्द’को अर्थ सनतकुमार हो। पौराणिक विवरण अनुसार स्कन्दमाता सिंहासनमा विराजमान छिन् र उनका दुवै हातमा कमलको फूल शोभायमान हुन्छ। नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको पूजास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका देवी स्तोत्रहरूको भक्तिपूर्वक पाठ गरिन्छ। नवरात्रमा देवीको उपासना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
नौ दिनसम्म गरिएको पूजा आराधनाको प्रसादस्वरूप विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाइन्छ। यसरी नेपालीहरूले १५ दिनसम्म हर्षोल्लासका साथ बडादसैँ पर्व मनाउँछन्।
स्कन्दमाताको पौराणिक प्रसङ्ग
पौराणिक ग्रन्थहरूमा स्कन्दमाताको उत्पत्तिबारे रोचक कथा वर्णन गरिएको छ। एकपटक भगवान् शिव र पार्वती ऋषिहरूको सभामा जाँदा उपस्थित सबैले उठेर स्वागत गरे, तर ऋषि सनतकुमार भने ध्यानमग्न भएकाले उठेनन्। यसबाट क्रुद्ध भई पार्वतीले उनलाई उँट बन्ने श्राप दिइन्।
ऋषि उँटको योनिमा पुगे पनि शिवले पार्वतीलाई भने- “ज्ञानीलाई कुनै श्रापले असर गर्दैन, उनी उँटकै रूपमा पनि ब्रह्मज्ञानको आनन्दमा मस्त छन्।” पछि शिव-पार्वती उँटरूपी सनतकुमारलाई भेट्न गए। पार्वतीले उँटको शरीरमा कस्तो अनुभव भइरहेछ भनी सोध्दा ऋषिले भने, “हजुरले मलाई उँटको योनि दिएर ठूलो कृपा गर्नुभयो। भोक लाग्दा जङ्गलका काँढा चपाउँदै आनन्दले ब्रह्मचिन्तन गर्छु, मलाई कुनै कष्ट छैन।”
ऋषिको यस्तो अद्भूत ज्ञान र समभाव देखेर प्रभावित भएकी पार्वतीले पश्चात्ताप गर्दै भनिन्, “तपाईं महान् ब्रह्मज्ञानी हुनुहुँदो रहेछ। मैले नबुझी श्राप दिएँ। अब म तपाईंलाई पुत्रका रूपमा प्राप्त गर्न चाहन्छु।” सनतकुमारले पार्वतीको आग्रह स्वीकार गरी उहाँको पुत्रका रूपमा जन्म लिएकाले देवीको यो रूपलाई ‘स्कन्दमाता’ भनिएको हो।


प्रतिक्रिया दिनुहोस्