काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सीमाभन्दा बलियो सहकार्य र अपराधीको गतिभन्दा छिटो कदम चाल्नुपर्नेमा जोड दिएका छन्। भारतमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा नेपालको तर्फबाट सहभागी उनले यस्तो उक्त धारणा राखेका हुन् ।
आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता सुरक्षा चुनौतीहरू बढ्दै गएको सन्दर्भमा भावी पुस्ताको सुरक्षित भविष्यका लागि यो बैठक महत्त्वपूर्ण रहेको उनको भनाइ छ। अपराध नियन्त्रणका लागि प्रभावकारी सूचना आदानप्रदान, अत्याधुनिक प्रविधिको प्रयोग र संयुक्त क्षेत्रीय पहल अपरिहार्य रहेको उनले प्रष्ट पारेका छन् ।
बैठकमा प्राकृतिक विपत्तिले कुनै सीमा नचिन्ने यथार्थलाई मध्यनजर गर्दै बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्न नेपालले औपचारिक प्रस्ताव अघि सारेको छ।
यसैबीच, बैठकका क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग द्विदेशीय साझा सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल भएको छ। भेटमा दुवै देशका गृहमन्त्रीहरूले सीमा सुरक्षाका विविध आयाम र नवीनतम मामिलाहरूमा आपसी समन्वय तथा सहकार्य प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्