आफूमाथि निर्मम छानबिन गर्न रास्वपा सांसद खगेन्द्र सुनारको चुनौती, महिलामाथिको ‘मिडिया ट्रायल’ प्रति आपत्ति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०८३, बुधबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष र निर्मम छानबिन गर्न माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए सांसद पद र पार्टीको केन्द्रीय सदस्य पद त्याग्न तथा जस्तोसुकै कानुनी सजाय भोग्न तयार रहेको स्पष्ट पारेका छन्।

पछिल्लो समय एक महिलासँग जोडिएर सार्वजनिक भएको विवादित अडियो प्रकरणलाई लिएर पार्टी र राज्यका सबै निकायले गर्ने अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यस घटनामा जोडिएकी महिलामाथि भइरहेको मिडिया ट्रायल, व्यक्तिगत तस्बिर, अडियो तथा भिडियो सार्वजनिक गरेर चरित्रहत्या गर्ने कार्यप्रति भने उनले गम्भीर आपत्ति जनाएका छन्।

- Advertisement -
Ad image

राजनीतिक र सामाजिक रूपमा सक्रिय एक महिलालाई लक्षित गरी भइरहेको अतिरञ्जित प्रचारलाई अनुचित ठहर गर्दै सुनारले भनेका छन्, “मैले गरेको भनिएको पाप वा अपराध प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु, जे कारबाही गर्ने हो ममाथि होस्, तर महिलामाथिको यो आक्रमण कदापि स्वीकार्य छैन।”

उनले आफू र सम्बन्धित महिला दुवैलाई सिध्याउने उद्देश्यले केही शक्तिहरू सक्रिय रहेको र प्रहरी प्रधान कार्यालय तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पटक-पटक बोलाएर मुद्दा हाल्न दबाब दिएको समेत दाबी गर्दै आफूले राज्यको निकाय र प्रहरीभित्रका विकृतिविरुद्ध आवाज उठाएका कारण प्रतिशोधस्वरूप यो योजना बुनिएको उनको दाबी छ।

यसअघि विवादित अडियो बाहिरिएपछि रास्वपाको केन्द्रीय अनुशासन आयोगले सो विषयमा सत्यतथ्य पत्ता लगाउन आन्तरिक छानबिन सुरु गरिसकेको छ भने अनुसन्धान नसकिएसम्म उनलाई पार्टीका औपचारिक कार्यक्रमहरूमा सहभागी हुन रोक लगाइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्