काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार पनि उत्साहजनक सुधार देखिएको छ। बजार २१.३२ अंकले (०.८२ प्रतिशत) बढेर २,६२१.२६ विन्दुमा पुगेर बन्द भएको छ। यो वृद्धिसँगै सेयर बजारले लगातार पाँचौं दिन पनि आफ्नो सुखद यात्रालाई निरन्तरता दिएको छ।
बुधबारको कारोबारमा बजारमा चौतर्फी उत्साह देखियो। बजार बढे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही संकुचन आएको छ। दिनभर कुल ३५४ कम्पनीको ९५ लाख ९८ हजार ६७० कित्ता सेयर कुल ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँमा खरिदबिक्री भयो।
बजारमा हरियाली छाउँदा कुल १८८ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने ८० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। बाँकी ९ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
यस दिन कारोबारमा आएका सबै १३ वटै उपसमूहगत परिसूचकमा वृद्धि भएको छ, जसले समग्र बजारलाई नै बलियो आड दियो। विशेषगरी बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण निकै उच्च देखियो, जसका कारण यो समूह सबैभन्दा धेरै १.४५ प्रतिशतले बढेको छ।
कम्पनीगत कारोबारतर्फ कुमारी बैंक लिमिटेड अग्रस्थानमा रह्यो। कुमारी बैंकको सर्वाधिक २६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने दोस्रो स्थानमा रहेको घलेम्दी हाइड्रोको २१ करोड ६० लाख रुपैयाँको सेयर खरिदबिक्री भयो।
नाफा कमाउने कम्पनीहरूमा १०.७५ प्रतिशत एसबिएल डिबेञ्चरका इकाईधनीहरू अग्रस्थानमा रहे, जसको मूल्य १३.२१ प्रतिशतले बढेको छ। त्यस्तै उपकार लघुवित्तको सेयर मूल्य पनि ४.९५ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताका लागि भने बुधबारको दिन सुखद रहेन। यस कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.३२ प्रतिशतले घटेको छ।


प्रतिक्रिया दिनुहोस्