काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सँगै नेपालको सेयर बजार (नेप्से) मा एकाएक उछाल आएको छ। लामो समयदेखि शिथिल बनेको बजारमा अर्थमन्त्रालयको २१ बुँदे ठोस नीतिगत प्याकेज आएपछि लगानीकर्तामा अभूतपूर्व उत्साह फर्किएको हो।
यसअघि प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा निजी क्षेत्र र सरोकारवालाहरूसँग अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल र भेटघाट गरिए पनि बजारले सकारात्मक गति लिन सकेको थिएन। बालेन प्रधानमन्त्री बनेपछिको सुरुवाती ५ महिनामा बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताले खर्बौँ रुपैयाँ गुमाउनु परेको थियो भने प्रधानमन्त्री स्तरका आश्वासनले मात्र बजारको मनोबल उठ्न सकेको थिएन।
तर, अर्थमन्त्री डा. वाग्लेले पुँजीगत लाभकरमा सहुलियत, पुँजी परिचालनको दायरा विस्तार, र बजारको संरचनागत सुधार समेटिएको ठोस कार्ययोजना घोषणा गरेलगत्तै बजारमा त्यसको जादुमयी असर देखिएको छ। नीतिगत स्पष्टता आएकै कारण मंगलबारको कारोबारमा २६५ भन्दा बढी कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने दैनिक कारोबार रकम समेत ८ अर्ब रुपैयाँ पार गरेको छ। लामो समयदेखि ‘पर्ख र हेर’ को अवस्थामा रहेका लगानीकर्ताहरू यो विशेष प्याकेजसँगै बजारमा फर्किएपछि नेप्सेमा पुनः हरियाली छाएको छ।


प्रतिक्रिया दिनुहोस्