काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। आज नेप्से परिसूचक १३.८२ अंकले घटेर २,६५४.१५ विन्दुमा पुगेर बन्द भएको हो। ठूला कम्पनीहरूको सेयर मापक सेन्सेटिभ परिसूचक पनि २.६२ अंकले घटेर ४६४.७३ विन्दुमा सीमित भएको छ।
परिसूचक घटे पनि आज बजारमा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर किनबेच भएको छ। बजारमा कारोबार भएका कुल सूचीकृत कम्पनीहरूमध्ये ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ कम्पनीको मूल्यमा गिरावट आएको छ, साथै १० कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कारोबार भएका १३ उपसमूहमध्ये व्यापार उपसमूह मात्र सकारात्मक देखिएको छ भने बाँकी १२ उपसमूहको सूचकमा गिरावट आएको छ। गिरावट आएको बजारमा पनि अपर लोहोरे खोला हाइड्रोपावर र कालङ्गा हाइड्रो लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्।
उता लक्ष्मी सनराइज बैंकको डिबेञ्चर र मेगा म्युचुअल फण्डका एकाइहरू बढी गुमाउने सूचीको अग्रस्थानमा रहे। आज बजारमा रिडी पावर कम्पनीको सर्वाधिक ४७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्