एनपीएलको हिसाब-किताबलाई लिएर नियोजित मिडियाबाजी भएको सचिव पारस खड्काको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ बैशाख २०८३, आईतवार
2 Min Read
Aa

विराटनगर – नेपाल क्रिकेट एशोसिएसनका सचिव पारस खड्काले क्यान र नेपाल प्रिमियर लिग एनपीएलको हिसाब–किताबलाई लिएर नियोजित मिडियाबाजी गरिएको बताएका छन् ।

विराटनगरमा भएको क्यानको साधारण सभामा सहभागी हुन आएका उनले अख्तियारमा बेनामी उजुरी गर्ने र भ्रम फैलाउने प्रवृत्ति हाबी भएको टिप्पणी गरे ।

- Advertisement -
Ad imageAd image

सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले भने, ‘हिसाब–किताब चाहने सदस्यहरूलाई कार्यालयमै आएर कागजात हेर्न आह्वान गरिएको छ । तर संस्थाका गोप्य डकुमेन्टहरू इमेलमार्फत जथाभाबी पठाउने प्रावधान छैन ।’

क्यानले सबै आवश्यक कागजात सम्बन्धित निकायमा बुझाइसकेको उनको दाबी छ । खड्काले भने, ‘यसमा आत्तिनुपर्ने कुनै कारण छैन । क्यानभित्र कुनै राजनीतिक हस्तक्षेप छैन र संस्था एक ढिक्का भएर अगाडि बढिरहेको छ । एनपीएलले नेपाली क्रिकेटमा ल्याएको व्यावसायिकतालाई सबैले कदर गर्नु पर्छ ।’
खड्काले तल्लो मूलपानी मैदानलाई क्यानको स्वामित्वमा ल्याउन पहल भइरहेको बताए । विराटनगरको बैजनाथपुर मैदान विकासका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको जानकारी दिए । नेपालको मुख्य ध्यान ओडिआई मान्यता जोगाउँदै आईसीसीको पूर्ण सदस्य (टेस्ट राष्ट्र) बन्नेतर्फ केन्द्रित रहेको उनले बताए ।

दुई दिनसम्म सञ्चालन हुने साधारणसभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । साधारणसभामा क्रिकेटसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

पछिल्लो १० महिनादेखि नवीकरण नभई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको विषयले साधारणसभामा प्रमुख एजेन्डाको रूपमा प्रवेश पाउने अपेक्षा गरिएको छ । क्यानले पछिल्लो पटक २०८१ असोजमा साधारणसभा सम्पन्न गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्