दर्ता नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सम्पन्न बैठकले सो निर्णय गरेको हो । दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि सक्रिय गर्ने सरकारको नीति रहेको छ । नेपालमा भाइबर, टिकटक, विटकजस्ता सामाजिक सञ्जाल दर्ता भइसकेका छन् ।

फेसबुक, ट्वीटर (एक्स), वाट्सएपलगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा आएका छैनन् । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दामा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामाग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो ।

- Advertisement -
Ad imageAd image

गत भदौ ९ गते मन्त्रिपरिषद्बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सात दिनको म्याद दिई सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सूचीकरण गर्नका लागि भदौ १२ मा सार्वजनिक सूचना प्रकाशन गरिएकोमा तोकिएको समय सिमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्