आईसीसी विश्वकप लिग–२: नेदरल्यान्ड्सविरुद्ध नेपाल १६ रनले विजयी, चारमध्ये तीन खेलमा जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ जेष्ठ २०८२, बुधबार
2 Min Read
Aa

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल १६ रनले विजयी भएको हो। नेपालले दिएको दुई सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा दुई सय २० रन बनाउँदा सबै विकेट गुमायो।

- Advertisement -
Ad imageAd image

नेदरल्याण्ड्सका लागि विस्लि बरेसीले ३६, कप्तान स्कट एडवार्ड्सले ३० तथा माइकल लेभिटले २७ रन बनाए। नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका नन्दन यादव र सन्दीप लामिछानेले समान तीन तीन विकेट लिए। यस्तै ललित राजवंशीले दुई तथा करण केसी र कुशल भुर्तेलले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३६ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले अर्धसतकीय पारी खेले। उनले ८५ बलमा ७ चौका र दुई छक्कासहित ८४ रन बनाए। यस्तै कप्तान रोहित पौडेल र भीम शार्कीले समान ३५ तथा कुशल भुर्तेलले १८ रन बनाए।

नेदरल्याण्ड्सका पौल भान मीकेरेनले ४ तथा माइकल लेभिटले ३ विकेट लिए। नेदरल्याण्ड्सले पेनाल्टीमार्फत १० रन प्राप्त गरेको थियो।

योसँगै तीन जित र एक हारसहित नेपालले त्रिकोणात्मक शृङ्खलाको अन्त्य गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा स्कटल्याण्डलाई एक रनले हराएको थियो भने दास्रो खेलमा नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।

तेस्रो खेलमा स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्