काठमाडौं – बुधबार राति चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै सविक विजेता कोलकोता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनको पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।
आईपीएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना कोलकोताका लागि गणितीय रूपमा बाँकी रहे पनि व्यवहारिक रूपमा लगभग अन्त्य भएको छ । बुधवार इडेन गार्डेनमा भएको खेलमा यसअघि नै पहिलो चरणबाट बाहिरिएको चेन्नईले कोलकोतालाई दुई विकेटले हराएको हो । कोलकोताले दिएको १८० रनको लक्ष्य पछ्याएको चेन्नईले दुई बल बाँकी रहँदा ८ विकेटको क्षतिमा १८३ रन जोडेको हो ।
६० रनमा ५ विकेट गुमाएको चेन्नईलाई खेलमा फर्काउने क्रममा डेवाल्ड ब्रेसभसले २५ बलमा ५१ रन प्रहार गरे । यसैगरी, उर्भिल पटेलले ११ बलमा ३१ रन प्रहार गरे । शिवं दुवेले ४० बलमा ४५ रन जोडे । कोलकोताका वैभव आरोहाले तीन विकेट लिए पनि तीन ओभरमा ४८ रन खर्चे । वरुण चक्रवर्तीले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । हर्षित रानाले दुई विकेट लिने क्रममा चार ओभरमा ४३ रन खर्चिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकोताले ६ विकेटको क्षतिमा १७९ रन जोडेको थियो । कोलकोताका लागि कप्तान अजान्के रहानेले ४८, आन्द्रे रसेलले २१ बलमा ३८, मनिस पाण्डेले अविजित रहँदै २८ बलमा २६ तथा सुनिल नारायणले २६ रन जोडे । २०० रन भन्दा माथिको आँकडामा अघि बढेको कोलकोतालाई रोक्ने क्रममा नुर अहमदले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए ।
कोलकोता १२ खेलमा ११ अङ्क सहित छैटौँ स्थानमा छ । चेन्नाई भने ६ अङ्कसहित पुछारमा छ । आईपीएलमा आज पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदै छ । प्लेअफ दौडमा रहेका दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ ।


प्रतिक्रिया दिनुहोस्