सिद्धार्थ गौतम बुद्धको जीवनी, उपदेश र सिद्धान्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० फाल्गुन २०८१, शनिबार
44 Min Read
Aa

भूमिका गैरे तिमिल्सिना

ईसापूर्व छैठौं शताब्दीमा नेपालमा शाक्यवंशीहरुको एक गणराज्य तत्कालीन समयमा वज्जी, मल्ल आदि मानिसका गणतन्त्र राज्य थियो । गाउँलेहरूले सर्वाधिकारी जमिन्दार मान्छेलाई जमिनदार र त्यसलाई नै राजा ठान्थे । उनीहरूमध्येबाट नै कुनै एकलाई महाराजा छानी राज्य सञ्चालनका लागि अनुरोध गर्दथे । शाक्यहरुको राज्यमा पनि महाराजाहरूले सबै राजाहरूको अनुमति लिएर मात्र राज्य सञ्चालन गर्नुपर्थ्यो किनकि राज्यको शासनव्यवस्था जनतान्त्रिक थियो र शाक्य परिवारमा एकपछि अर्कोले क्रमशः शासन गर्थ्यो । शाक्यहरुको राजधानी कपिलवस्तु थियो ।

- Advertisement -
Ad image

कपिलवस्तुमा सिंह-हनुका पाँच पुत्र र दुई पुत्री थिए जसमा शुद्धोधन, धौतोदन, शुक्लोदा , शाक्योदन ,अमितोदन र पुत्रीहरूमा अमिता र प्रतिमा थिए । नियमानुसार जेठो सन्तान भएकाले शुद्धोधन राजगद्दीमा बसे।

राजा शुद्धोधनको विवाह देवदह निवासी कोलीय वंशका अज्जन र सुलक्षणाकी पुत्री माहामाया (माहादेवी) संग भएको थियो । महादेवी सुत्केरी हुनका लागि आफ्नो माइती जादै गर्दा लुम्बिनी वन पुग्दापुग्दै प्रसव पीडाले च्याप्यो। ईसापूर्व ५६३ वैशाख पूर्णिमाका दिन सालको वृक्षमुनि माहात्मा गौतम बुद्धको जन्म भयो। सिद्धार्थको अर्थ मनोकामना पूर्ण हुनु र गौतम उनको कुलनाम भएकाले उनको नाम सिद्धार्थ गौतम राखियो ।

सिद्धार्थ गौतमको जन्म भएको सातौं दिनमा उनकी माता माहामाया ९माहादेवीको० मृत्यु भयो । सिद्धार्थको पालनपोषण उनकी ठूली आमा महाप्रजापति गौतमीले गरिन् । महाप्रजापति गौतमी, मायादेवीकी दिदी र राजा शुद्धोधनकी दोस्रो पत्नी थिइन् । केही विद्धानहरुले सिद्धार्थ गौतमको पूर्व भविष्यवाणी गरेका थिए की उनी महान सिद्ध पुरुष बन्छन , सन्त पुरुष बन्नबाट कसैले रोक्न सक्दैन । सन्त बनी धम्म (धर्म)को प्रचार गरी प्रसिद्ध बन्नेछन् । यस्तो भविष्यवाणी सुनेर राजा शुद्धोधन अत्यन्त दुःखी भई दरबारबाट बाहिर जान रोक लगाए। बाहिरी संसारका दुस्ख पीडा केही अवगत नहोस् भनि दरबार भित्र शिक्षा दिक्षा दिन लगाए।

आठ वर्षको उमेर भएपछि सिद्धार्थको शिक्षा प्रारम्भ भयो। बाल्यकालदेखि नै तीक्ष्ण बुद्धिका धनी, खुब मन लगाएर पढ़ने, साहित्य, सङ्‌गीत, धनुविद्या, उत्तम लेखन र खेलकुद आदिमा प्रवीण थिए। उनी दयालु स्वभावका थिए। बाल्यावस्थामा उनले एक घाइते पंक्षीको उपचार गरी निको पारेका थिए ।

कसैको दुःख पीडा देख्न सक्दैनथे जसले गर्दा सिद्धार्थमा, माया, मोह, लोभ जस्ता गुण नभएकाले उनी कतै वैराग्य भई सन्यासी जीवन बिताउने हुन कि भन्ने ठानी राजा शुद्धोधनले सबैको सल्लाह सुझाव लिदै विवाह गरिदिने निर्णय गरेका थिए। सोह्र वर्ष‌को उमेरमा सिद्धार्थको विवाह दण्ड‌पाणि कोलियकी सोह्र वर्षिया पुत्री शील र स्वभावले प्रसिद्ध यशोधरासँग भयो । उनले एक पुत्रलाई जन्म दिइन् जसको नाम राहुल राखियो । उनी राहुलमाताको नामले परिचित भइन् तर सिद्धार्थले प्रेमपूर्वक उनलाई ‘गोप’ भनेर बोलाउथे ।

चिन्तनशील र विचारमग्न सिद्धार्थलाई देखेर महाराज शुद्धोधनले छोरा सन्यासी नबनोस् भनि कामयोगको बन्धनमा बाध्नका लागि भोगविलासका साधनले सुसज्जित गर्न थाले। महाराज शुद्धोधनले गर्मी, वर्षात र जाडो यामका लागि तीनओटा अलग-अलग महल बनाउन लगाए । ग्रीष्मकालीन भवन पहाडको उचाइ एक रमणीय स्थलमा नौतले बनाउन लगाए भने वर्षा र शरद ऋतुका लागि राजधानीमा सात तले र पाँच तले बनाएर भौतिक सुविधाले सम्पन्न भोग विलासले मोहित पार्ने प्रयास गरे।

सिद्धार्थ गौतम यशोधराका साथमा जनताहरूका बीचमा जान थाले र तिनीहरुलाई परेका दुस्ख हटाउने, गरिबभन्दा गरिब परिवारलाई भेटे । दरिद्रता, लङ्‌गडा, विरामी देखे । दरबारका अधिकारीहरुले गरिबलाई मद्दत गर्नुको साटो आफ्नो सत्ता सुदृढ गर्ने र कुर्ची सुरक्षित पार्न षड्यन्त्र, एकअर्का विरुद्ध द्धेष भाव, तल पार्ने र राजाको बढीभन्दा बढी विश्वासपात्र बन्ने क्रियाकलाप देखेका कारण राजनीतिसँग उनको मोह भङ्‌ग भयो । राजनीतिज्ञहरूका निजी स्वार्थ, आर्थिक र सैनिक समस्याहरूको जड हो, भ्रष्ट अधिकारीलाई नैतिकता र सदाचारको भाषण दिइरहेको देखेर उनलाई खुब रिस उठ्‌थे तर उनी मौन थिए किनकी अरु कुनै विकल्प थिएन ।

शाक्य राज्य स्वतन्त्र राज्य थियो तर अगाडि गएर कोसल नरेशले यसलाई आफ्नो शासन क्षेत्रमा सामेल गरेका थिए। उनको स्वीकृतिबिना शाक्य स्वतन्त्र रीतिले आफ्ना राजकीय अधिकारीहरु‌को उपयोग गर्न सक्दैनथ्यो। कसैलाई मृत्युदण्ड अथवा निर्वासित गर्ने जस्ता फैसलामा कोसल नरेशको अनुमति आवश्यक हुन्थ्यो । कोसल र मगध साम्राज्यहरू‌का साम्राज्यवाद‌ी नीतिले शाक्य जस्ता स-साना राज्यहरु‌लाई आफ्नो स्वायत्तता खोसिने डर सधैँ भइनै रहन्थ्यो ।

बीस वर्षको उमेर भए‌पछि प्रत्येक युवा शाक्यले सङ्‌घमा दीक्षित हुनुपर्थ्यो। त्यसै अनुरूप सिद्धार्थ पनि सङ्‌‌घमा दीक्षित भए । जसमा सङ्घका सदस्यहरूका लागि आठ नियमहरुमा शाक्यको हितमा हुनु, कसैको दोष खुलेर बोल्नु, सभामा उपस्थित हुनु , आफ्नो दोष सहस्र स्वीकार गर्नु , व्यभिचार नगर्नु, हत्या नगर्नु, चोरी नगर्नु, झुटो नबोल्नु रहेका थिए ।

शाक्य सङ्‌‌घको सदस्य बनेको आठवर्षसम्म सिद्धार्थ सबैका प्रिय सदस्य रहे । शाक्यहरुको राज्यसँगै टाँसिएको कोलीहरुको राज्य थियो । रोहिणी नदीले दुवै राज्य विभाजक गर्नुको साथै दुवै राज्यले सिँचाइ पनि गर्थे । सिद्धार्थ अठ्ठाइस वर्षका भइ सकेका थिए। अक्सर कोली र शाक्यहरूको विवाद भइरहन्थ्यो, कहिलेकाही त युद्धको स्थिति पनि पैदा हुन्थ्यो ।

त्यस वर्ष पनि रोहिणीको नदीको पानी झगडाको कारण बन्यो। युद्ध‌को स्थिति सृजना हुन पुग्यो। सङ्‌घको सभा बोलाई समस्यामा मतभेद भयो । दुवै तर्फ युद्धका लागि तत्पर भए तर सिद्धार्थ युद्ध चाहदैनथे । उनी आपसी समझदारीमा टुङ्‌‌ग्याउन चाहन्थे। विवादले उघ्र रूप लिएपछि गलत बहुमतका सामु झुक्नुभन्दा सिद्धार्थ परिव्राजक (सन्यासी) जीवन व्यतित गर्ने निर्णय गरे । उनी त्यतिबेला उन्तिस वर्षका भएका थिए । ठूलीआमा महाप्रजापति गौतमी र पिता शुद्धोधनको उमेर लगभग सत्तरी वर्ष भएका थिए।

सिद्धार्थ गौतमले आमजनतालाई युद्धको विनाशबाट बचाउनका लागि र जीव जगतमा जो दुःख मौजूद छन् ती दुःखका कारण र हटाउने उपायहरुलाई खोज्नका लागि, समस्त शाक्यहरु, आफ्ना राज्यका जनताहरु मातापिता र पत्नीलाई थाहा दिएर परिव्राजक बन्ने निर्णय लिई गृहत्याग गरे। यशोधराले उनको निर्णयमा पूर्ण समर्थन दिइन्।

सिद्धार्थ गौतम आफ्नो प्रिय घोडा कन्थकमा सवार भई भारद्वाज ऋषिको आश्रममा पुगे । सिद्धार्थले आफ्नो सारथि छन्नलाई राजकीय वस्त्र र आभूषण दिई परिव्राजकका कपडा धारण गरे। शुद्धोधन र गौतमीले सिद्धार्थले त्याग गरेका वस्त्र र आभूषण एक कमलको पोखरीमा प्रवाहित गरिदिए।

अनोमा नदीमा पुगेपछि छन्न र कन्थक सिद्धार्थसँग बिदा मागी फर्किए र सिद्धार्थ गौतम पनि आफ्नो बाटो लागे । त्यसपछि उनी मगध राज्यको राजगृह राजधानीतर्फ लागे र त्यहाँका राजा बिम्बिसारलाई भेटे । राजा बिम्बिसारले पुनः गृहस्थ जान र राजपाट सम्भाल्न आग्रह गरे। यदि फर्कन चाहानु हुन्न भने म मेरो आधा राज्य दिन्छु । धनुष वाण, सेनाको उपयोग गरी विरोधीमाथि विजय प्राप्त गर्नुहोस् भनि सम्झाए।

सिद्धार्थले भने, ‘म शान्तिको खोजीमा हिंडेको छु।’ बोधि सत्य प्राप्त गर्नुछ भन्दा बिम्बिसार भने,’तपाई जब बोधि प्राप्त गर्नु हुनेछ, त्यसबेला फेरि यहाँ आएर मलाई दीक्षा दिने कृपा गर्नुहोला । त्यही राजगृहमा एउटा कुटी बनाएर सिद्धार्थ बसेका थिए, त्यसैबेला अरु पाँच जना परिव्राजक कौडिन्न, वप्प, भद्विय, महानाम र अस्साजी पनि आई सिद्धार्थको नजिक कुटी बनाएर बसे । तिनीहरूबाट सिद्धार्थले थाहा पाए कि शाक्य र कोलीहरुका तर्फबाट सन्धिवार्ता भई युद्धको खतरा समाप्त भएछ ।

त्यसपछि सिद्धार्थ हर परम्परा र हर मतको स्वयम् परीक्षण गर्ने निर्णय गरे र भृगुको आश्रममा गए। उनले विचित्र-विचित्रका तपस्याहरूको निरीक्षण गर्दै आश्रम हेरे । साधुहरुले शरीरलाई कठोर तप र कष्ट दिनाले मरेपछि स्वर्गमा वास हुनेछ अनि फलफूल र कन्दमूल खाई आफ्‌नो शरीरलाई जल र अग्निमा तड्‌पाउथे । यस्तो देखेर सिद्धार्थ गौतमको इच्छा त संसारका समस्त दुःखहरुको मूल कारण र त्यसको निवारण खोज्नु थियो । भृगु आश्रम छाडेर अर्को आश्रमको खोजमा निस्किए। यसरी सिद्धार्थ एकपछि अर्को गर्दै तत्कालीन भारतको करिब-करिब सबै प्रसिद्ध आश्रम भ्रमण गरे। किसिम किसिमका ध्यान र साधना सिकेर अध्यात्मिक लाभ त मिल्यो तर जन्म मरणको भवसागरबाट मुक्तिको मार्ग मिल्न सकिरहेको थिएन ।

खोजीकै क्रममा उनी आलार कालमको आश्रममा पुगे । त्यहाँ परम्परागत सात ओटा ध्यान सिके । त्यसपछि उनी उद्धक राजपुत्त‌को आश्रममा गए र आठौं ध्यान सिके । बोधि प्राप्तिको लागि साधना गर्न उनी गयाको नजिकै निरन्जरा नदी किनार पुगे र एक गुफामा लामो समयसम्म साधना अभ्यास गरे।

सिद्धार्थ गौतम डुङ्गेश्वरी पर्वतमा लामो समय कठिनभन्दा कठिनतम तपस्या गरे । त्यहाँ चौँथो महिनामा पाँचजना परिव्राजक (सन्यासी) भेटे जुन कपिलवस्तुको शान्तिको समाचार सुनाएका थिए। सिद्धार्थको आज्ञानुसार तिनीहरू त्यही बसे जसमा पालैपालो एकजनाले हरेक दिन छेउछाउका गाउँबाट भिक्षाटन गरी ल्याउथे र त्यसैबाट गुजारा गर्थे।

सिद्धार्थको शरीर कठोर तपका कारण निर्बल भईसकेको थियो। उनी बलहीन, थकित , शरीर पीडन तपले गर्दा कमजोर भई लडेका थिए। शरीरमाथि अत्याचार गर्नु भनेको चित्तमाथि अत्याचार गर्नु हो। शान्ति र चित्तको एकाग्रताका लागि शरीरका आवश्यक्ता पूर्ति हुनुपर्छ भन्ने लाग्यो।
सम्बोधि प्रप्तिका लागि उनी आफ्नो गुरु स्वयम् बन्नेछन्। ध्यानका लागि एकान्त ठाउँ र शान्त वातावरण चाहिन्छ। ५ वर्ष सम्मको तपश्चर्याको क्रममा उनी आफ्नो सास र शरीरका क्रियालाई नियन्त्रित गर्न कोसिस गरेका थिए तर छ वर्ष तपस्याका क्रम‌मा शरीर र चित्त स्वभाविक प्रवृत्तिहरुसँग लडिरह्यो। उनलाई थाहा भयोकि बुद्धत्व प्राप्त गर्न स्वभाविक सासलाई हेरी हेरी गहन ध्यानावस्थामा पुग्न सकिन्छ ।

एक दिन सुजताले दिएको, खिर खाएर सिद्धार्थ ध्यान गर्न बसे त्यसै राती उनलाई बुद्धत्व प्राप्त भयो। उनलाई लाग्यो कि बुद्धत्वको मार्गमा बिस्तारै-बिस्तारै र लामो समयसम्म हिड्नुपर्ने रहेछ। उनले प्रत्यक्ष अनुभव गरे कि दुस्खको मूल कारण तृष्णा रहेछ। सिद्धार्थ गौतम प्रत्येक दिन भिक्षाटन प्राप्त भोजन मध्यान्ह भन्दा अगाडि नै खाई सक्थे र ध्यानमा लीन भईहाल्थे।

बोधगयामा एक पीपलको वृक्षमुनि पूर्व दिशातिर मुख फर्काएर पद्‌मासन लगाएर बसिहाल्थे र लगातार ध्यान गर्थे । वसन्त ऋतु समाप्त हुन लागेको थियो र उनी केही दिनमा पैतिस वर्षका हुन लागेका थिए। ध्यान गर्दा गर्दै एकछिन शरीरलाई आराम दिन पल्टिए, निद्रा परिहाल्यो । स्वप्नमा भविष्यतर्फ सङ्‌केत भयो।

प्रथम स्वप्नमा उनले आफ्नो विशाल रूप देखे कि उनी आजको नेपाल र भारतको सम्पूर्ण धरतीमाथि पल्टिएका छन्‌ ‌जो कि उनको लागि ओछ्‌यान बनेको छ। हिमालको उच्च शिखर तकिया छ । उनका खुट्टा दक्षिण भारतको कन्याकुमारीसम्म फैलिएका छन्, दक्षिण महासागरमा उडेका छन् र महासागरले उसका खुट्टा पखालिरहेका छन् । दायाँ हात पश्चिममा अरब सागरको किनारमा छ र बायाँ हात पूर्वमा बङ्‌गालको
खाडी किनारमा। दुबै समून्द्रले उनको हत्केला र औंलाहरूलाई पखालिरहेका छन् ।

दोस्रो सपनामा छिरिका नामक घाँस उनको नाभिबाट निस्किएर आकाशतिर उन्नतिशील छ र रथ पाङ्‌ग्राको आकारको कमल फुलेको छ। तेस्रो सपनामा विभिन्न रङ्‌गका अनगिन्ती पंक्षीहरु सबै दिशाहरूबाट उड्‌दै उनीकहाँ आइरहेका छन्। बोधिसत्व उठेर बसे र यी स्वप्नहरुका अर्थ माथि चिन्तन र ध्यान गर्न थाले। यी स्वप्नहरूले सङ्‌केत गर्यो कि उनलाई बुद्धत्व प्राप्त हुन लागेको छ। उनका उपदेशहरुको प्रभाव समस्त जम्मूदीप आजको सम्पूर्ण भारत र नेपालमा पर्नेछ र त्यसपछि दक्षिण पूर्व र पश्चिमी समुन्द्रहरुद्धारा तथा उत्तरी हिमालको बाटो हुदै सारा विश्वमा फैलिनेछ। सबै दिशाहरुबाट विभिन्न रङ्‌गका पंक्षीहरु आउनाले प्रत्येक वर्ग, जाति सम्प्रदाय र देशका मानिसहरु‌ले उनले बताएको मार्गलाई अपनाउने छन् ।

सिद्धार्थ जब दृढ निश्चयका साथ ध्यानमा बस्थे तब खराब विचार र खराब चेतनाहरू झुण्डका झुण्डले, जसलाई ‘मारु भनिन्छ, हुलका हुलले उनलाई आक्रमण गर्थे । एकपटक त उनलाई डरले लाग्यो कि कतै मार म माथि नै हावी भई साधना भङ्‌ग गरिदेलान् तर आफ्नो सारा साहस बटुलेर उन‌ले मारसँग भने, ‘म भित्र श्रद्धा छ, प्रज्ञा छ, वीर्य छ, हे मार ! त कसरी मलाई पराजित गर्न सक्छस् ? चाहे वायु, नदीको स्रोत सुकाउन सक्लास् तर म भित्रको दृढ निश्चय कदापि डग्मगाउन सक्दैनस्।’ त्यो देखेर खराब विचार (मार) हिँडिहाल्यो।

ध्यानको गहिराईमा पुगेर उनले पाए कि प्राणीमा अज्ञानताका कारण अनेक प्रकारका दुःख कष्ट भोग्दछन्। लोभ, मोह, क्रोध, अहङ्‌कार, भ्रम, द्धेष, मोह इत्यादि नष्ट भए चित्त निर्मल हुन्छ, निर्विकार हुन्छ, चित्तमा अनन्त करुणा, अनन्त हर्ष, र आनन्द छाउँछ। सन् ५२८ ईशापूर्व वैशाख पूर्णिमाको दिन बुद्धत्त्व प्राप्त गरेर सिद्धार्थ गौतम सम्यक सम्बुद्ध बने। सम्बोधि प्राप्त गरिसकेपछि पनि बोधि वृक्षमा चार सप्ताह बिताएर अजपाल नामक वरको रुखनेर गए। पाँचौँ सप्ताह धम्ममाथि विचार गर्दै विमुक्ति सुखको आनन्द लिए।

छैठौँ सप्ताहमा मुचलिन्द वृक्षमुनि आए। सातौँ सप्ताहमा राजायतन वृक्षमुनि आए । त्यहाँ उनले विमुक्तिको आनन्द लिदै, ध्यानसुख, मार्गसुख, फलसुखमा बिताए। बुद्धको मनमा ती सबै मानिसहरू‌प्रति कृतज्ञता थियो, ज-जसले ज्ञानको खोजीमा उनलाई मद्दत गरेका थिए। पहिलो आलार कालाम जसबाट सात ध्यान सिकेका थिए। उनलाई भेट्‌ने इच्छा हुदा थाहा पाएकि उनको सात दिन अगाडि नै देहान्त भएको रहेछ। त्यसपछि उद्दक राजपुतलाई सम्झे तर उन‌को पनि एकदिन अगाडि नै मृत्यु भएको रहेछ। त्यसपछि पाँच जना परिव्राजकहरुका बारेमा सोचे र थाहा लाग्यो कि उनीहरु इसिपत्तनको मृगदाय वनमा साधना गरे‌का छन भनि त्यसपछि सिद्धार्थ गौतम बुद्ध त्यतैतिर लागे। उनले तिनीहरुलाई धर्मको मार्ग सिकाए। पहिला चक्षु उत्पन्न भयो, ज्ञान, प्रज्ञा, विद्या र आलोक उत्पन्न भयो सबै निरन्तर साधनाबाट बोधि प्राप्त भयो।

माहात्मा गौतम बुद्धले ती पाँचजना परिव्राजकहरूलाई अनत्त लक्खन सुत्त बुझिसकेपछि विपस्सना साधनाको अभ्यास गर्दागर्दै कौडन्यले प्रत्यक्ष अनुभूतिद्वारा चार आर्यसत्यहरुलाई बुझिहाले, अनित्य एवम् अनात्माको बोध भयो र अर्हत पद प्राप्त गरे, दुई महिनापछि नै वप्प र भद्दियले पनि अर्हत पद प्राप्त गरे, केही दिनपछि महानाम र अस्साजीलाई पनि अर्हत प्राप्ति भयो। यस प्रकार तीन महिना भित्रमा पाँचै जना भिक्षुहरुलाई पूर्ण मुक्तिको अवस्था प्राप्त भई अर्हत (मोक्षप्राप्त) पद प्राप्त भयो। यी पाँचजना भिक्षुलाई लिएर भगवान बुद्धले भिक्षु सङ्‌घको स्थापना गरी एक लचिलो संगठन स्थापना गरे।

बनारसमा एक निकै धनी व्यापारीको ‘यशु नाम गरेको पुत्र थियो । जुन कामवासना, मनोरञ्जन गर्ने गर्दथे। त्यसलाई बुद्धले दीक्षा दिई उसको चित्तको विमुक्ति मार्ग भेटी शान्ति, श्रद्धा, आनन्द प्राप्त भएको यशका पितालाई बताए। यशका पिता, माता र पत्नीलाई उपासिकाका रुपमा स्वीकृति दिए । यशका माता पिता र पत्नीले ‘बुद्धम शरणम् गच्छामि, धम्मम् शरणम् गच्छामि ! भनि उपास‌क बने। त्यसपछि बुद्ध र भिक्षुहरूको जताजता गए उताउता उनीहरूको बोलाबाला हुदै गयो। मानिसहरु चुम्बकले तानिए झै आउँन थाले ।

धम्म मार्गमा हिड्‌नेहरूको जीवनमा आएको परिवर्तनलाई देखेर बुद्ध‌का अनुयायीहरुको सङ्‌ख्या निकै तेजीले बढ्न थाल्यो। त्यस समयका प्रसिद्ध विद्वान, राजा, व्यापारी, योद्धा, गृहस्थ, किसान, मजदुर, धनी-गरिब, हर वर्ग र सम्प्रदायका मानिसहरु धम्मको शरणमा आउँन थाले । धम्मको ख्याति चारैतिर फैलियो।

यस प्रकार आचार्य उरुबेला नदी काश्यप र गया काश्यप, जसलाई काश्यप बन्धुहरुका नामले चिन्ने गरिन्थ्यो, आफ्ना एक हजार शिष्यहरूका साथ सङ्‌‌घ‌को शरणमा आए। भिक्षुहरुले अर्हत पद प्राप्त गरेपश्चात राजगृहतिर लागे। राजगृह नजिक ताडवन वनमा बुद्ध रहेको थाहा पाई मगध नरेश बिम्बिसार पनि रानी, आचार्यहरु र राजकुमार आजातशत्रु, कैयौं व्राम्हण बुद्धिजीवीहरू सहित आई उपासक बने। राजा बिम्बिसारले भिक्षु सङ्घलाई वेलवन दान दिए । बुद्धले दोस्रो वर्ष वेलवनमा विताए। (ईशापूर्व ५२७) मा महाकाश्यप नामक ब्राम्हण पनि बुद्ध, धम्म र सङ्‌घको शरणमा आए।

सिद्धार्थले बुद्धत्व प्राप्त गरिसकेपछि र उनी राजगृह‌को वेलवनमा विहार गरेको कुरा राजा शुद्धोधन‌ले थाहा पाएप‌छि कपिलवस्तु‌मा ल्याउनका लागि मन्त्री पठाए। वेलवनमा गएर भिक्षुहरुलाई ध्यान गरिरहेको देखेर उसको मनमा पनि धम्म संवेग जाग्यो र प्रव्रज्या (सन्यास) बनिहाल्यो । केही समय सम्म कुनै समाचार नआएपछि दोस्रो, तेसो गरी नौ मन्त्री पठाए। अन्त्यमा कोही नफर्किएपछि कालुदयीलाई पठाए। उनले कपिलवस्तु फर्कन अनुरोध गर्दा भिक्षु सङ्‌‌घका साथ हिड्न अनुमति दिए। कपिलवस्तुभन्दा तीन मील अगाडि न्यग्रोध उद्यानमा भिक्षु सङ्घ विहार गरे।

अर्को दिन तथागतले भिक्षापात्र बोके र कपिलवस्तुमा भिक्षाटनका लागि निस्किए। उनले भिक्षा मागेको खबर पूरै नगरीमा आगोजस्तौ फैलियो राजा शुद्धोधनले बुझिसकेका थिए कि अब सिद्धार्थ युवराज होइन बरु आध्यात्मिक गुरु हुन्। शुद्धोधनले भने, ‘भिक्षु सङ्घलाई भोजन गराउँछु, तपाई यसरी लज्जित नपार्नुहोस् भनि अनुरोध गरे ।’ बुद्धले भने, ‘मानिस चाहे जतिनै गरिब किन नहोस् ऊ आध्यात्मिक उन्नतिको लागि हकदार हो। भिक्षा माग्नाले मेरो इज्जत कम हुदैन। भिक्षा दिनेलाई आफ्नोे दानको सीमा बढाउने अवसर मिल्छ। भिक्षा दिनाले , दान दिने मानिसको अहममा कमी आउँछ । यसबाट उनीहरुलाई पनि अध्यात्मको लाभ मिल्छ ।’ राजा शुद्धोधन एवम् महाप्रजापति गौतमीले भिक्षु सङ्‌घको अगुवाई गरे भने पत्नी यशोधरा र पुत्र राहुल‌ले उहाँलाई प्रेमपूर्वक भेटे।

राजा न्यग्रोध उद्यानमा बुद्ध र भिक्षुहरुका लागि कृटीहरू बनाई दिए। बुद्ध ६ महिनासम्म कपिलवस्तुको न्यग्रोध उद्यानमा बसे। यशोधाराले राहुललाई बुद्धकहाँ पठाइन र पितासँग उत्तराधिकारी माग्न भनिन् । बुद्धले राहुललाई श्रामठोर दीक्षा दिएर भिक्षु सङ्‌घमा सामेल गरे। शुद्धोधनको दोस्रो पुत्र नन्दले पहिले नै प्रव्रज्या लिसकेका थिए र राहुलले पनि प्रव्रज्या लिएकोमा झन दुःखी भई अनुरोध गरे कि अब कुनै मातापिताको आज्ञा बिना प्रव्रज्या नदिइ‌योस् बुद्धले सहस्र स्वीकार गरे।

भिक्षु सङ‌घका साथ गौतम बुद्ध पुनः वेलवन फर्किए भिक्षुहरु एकै ठाउँमा बस्नको लागि वर्षावासको नियम बनाए। साधकहरूले तीन चार महिना वर्षावासमा विपस्सना साधना पूरा गरे भने आश्विन पूर्णिमाका दिन वर्षावासको उत्सव समाप्त गरेर अर्को दिन भिक्षु सङ्ध्‌का साथ धम्मको उपदेश दिदै पुनः नौ महिना घुम्थे। बुद्ध‌ले भिक्षु सङ्‌घका साथ पहिलो बर्षाबास इसिपत्तन, सारनाथमा बिताएका थिए, दोस्रो बर्षावास (ईशापूर्व ५२७) राजगृहमा बिताए, तेस्रो (ई.पू. ५२६) चौथो (ई.पू. ५२५) राजगृहको वेलवनमा विताए ।

भिक्षुहरूलाई वेलुवनको कौडन्न र उरुबेला काश्यपको नेतृत्वमा छाडेर पाँच सय भिक्षुहरुसहित हिड्दै चार महिनाप‌छि बुद्ध वैशाली पुगे र महाबन‌को कुटागार विहारमा बसे। दुई सय भिक्षुहरुलाई छाडेर, तीन सय भिक्षुहरुका साथ उनी श्रीवस्तीतिर हिँडे। श्रीवस्तीमा अनाथपिण्डको जेतवनराम भिक्षु सङ्‌घलाई दान दिए। धम्मको उपदेश दिदै वैशाली फर्किए। त्यहाँ पाँचौं वर्षावास त्यही कुटागार विहारमा बिताए।

बुद्धले छैठौं वर्षावासः (ई.पू. ५२३)० मा मन्कुल पर्वतमा विताए। सातौं वर्षावास (ई. पू. ५२२) मा त्रयस्वंशमा बिताए। आठौं वर्षावास (ई. पू. ५२१) सुंसमार गिरिमा बिताए। नवौं वर्षावास (ई. पू. ५२०) कौसाम्बीको गोशिरा वनमा घोषिताराम विहारमा बिताए। गोशिरा वन सिसौका रुखले भरिएको थियो । भिक्षु सङ्‌घमा सुरुवात शीलाचार्य र सुत्राचार्यहरुबाट मनमुटाव भयो । विस्तारै विस्तारै शिष्यहरु बाझ्न थाले, त्यो देखेर बुद्धले शिष्यहरूलाई धम्मको उपदेश दिदै वैरभावले कसैको हित नहुने कुरा बताए। यसै गरि कैयौ वर्षावास विभिन्न ठाउँमा बिताए।

वर्षावासपछि बुद्ध भिक्षु सङ्‌घका साथ दक्षिणतिर हिँडे। संकिसा, कन्नोजमा उपदेश दिदै प्रयाग पुगे। गंगा नदी तरेर बनवासमा विहार गर्दै वैशाली पुगे । त्यहाँ महावनस्थित कुटागार बिहारमा बसे। तेह्रौ वर्षावास चालिय पर्वतमा बिताए र उनले लिच्छवीहरुको सेनापतिलाई धम्मको उपदेश दिए। ‘पोतलिय सुत्तुको उपदेश दिए। अङ्‌गुत्तरायमा नै उपदेश दिदै बुद्धले शैल नामक ब्राहमणलाई उसका तीन सय शिष्यहरुका साथ, सेल सुत्तको उपदेश दिएर धम्मदीक्षा दिए। त्यहाँबाट बुद्ध बाह्रसय पचास भिक्षुहरुका साथ उपदेश दिदै कुसीनाराका लागि हिडे। कुसीनारामा मल्लहरुले बुद्धको भव्य स्वागत गरे।

चौधौं वर्षावास बुद्धले श्रावस्ती जेतवनमा आत्माका सम्वन्धमा व्याक्त भ्रान्तिहरुको खण्डन गरि बिताए। बुद्धले राहुललाई सम्झाउदै भने, रुप शरिर विज्ञान, संज्ञा, वेदना र संस्कार यी पञ्चस्कन्धहरुमध्ये केही पनि नित्य शास्वत छैन। आत्माजस्तो कुनै तत्व छैन। आत्माका बारेमा तीन भ्रान्तिहरू छन् शरीर, त्यसको विज्ञान, हो संज्ञा, बेदना र संस्कार यी पञ्चस्कन्ध नै आत्मा हुन्, यो पहिलो भ्रान्ति हो । यदि यो मानिन्छ कि स्कन्ध आत्मा होइन या आत्मा स्कन्धहरूभन्दा पृथक तत्व हो अथवा स्कन्ध आत्माको वशमा छ, यो दोस्रो भ्रान्ति हो। स्कन्धहरूमा आत्माको उपस्थिति मान्नु तेस्रो भ्रान्ति हो । पञ्चस्कन्धहरुको अनित्यता, तीनवाट हुने दुःखमाथि ध्यान गर्नु, जसबाट प्रत्यक्ष अनुभूति जान्न सकियोस कि न त आत्मा हुन्छ र न आत्मसम्बन्न्ध नै र न आत्मा र स्कन्धहरु एक अर्कामा विद्यमान हुन्छन् ।

पंन्धौं वर्षावास कपिलवस्तुको न्यग्रोधा राममा बिताए । त्यहाँ उन्‌ले भरण्डु सुत्त र महानाम सुत्तको उपदेश दिए। त्यसै वर्ष फेरि रोहिणी नदीको पानीको बाँड‌फाँडलाई लिएर बिवाद जन्मियो र लडाईको स्थिति आयो । बुद्धले दुबै पक्षलाई‌ सम्भाईबुझाई सुल्झाए । कपिलवस्तुमा नै उनले भिक्षुहरूलाई तीनभन्दा बढी चीवर (वस्त्र) स्वीकार गर्ने रोक लगाए।

सोह्रौ वर्षावास कीटागिरि (उत्तर प्रदेशको जौनपुर जिल्लाको केरावत) मा (कानपुर जिल्लाको अलवी) मा विताए । सत्रौं वर्षावास राजगृहमा विताए । त्यहाँबाट सुहय देश (हजारीबाग र संथाल परगना जिल्लाहरु‌को भाग) को शिलावतीको सेत कन्निकमा विहार गर्दै चालिय पर्वतमा पुगे र अठारौं र उन्नाइसौं वर्षावास त्यहीं बिताए।

वीसौं वर्षावास राजगृहमा विताए। बुद्ध गृद्दकुट पर्वतमा राजवैद्ध जीवक भिक्षुसँग सेवा गर्दै थिए। जीवकले भिक्षुहरुलाई सरसफाई सम्बन्धि आधारभूत कुराहरू सम्झाए, जस्तै पोखरीको पानी उमालेर पिउनुपर्छ, सात दिन‌मा आफ्ना लुगा राम्रोसँग धुनुपर्छ, विहारमा शौचालयको व्यवस्था हुनुपर्छ। बासी भोजन सेवन गर्नु हुदैन।

एक्काइ‌सौं वर्षावास भिक्षुसङ्‌घका साथ श्रावस्तीको जेतवनाराममा बिताए । उनको आयु पचपन्न वर्ष भई सकेको थियो। त्यसै समय विशाखाले श्रावस्तीमा पूर्वाराम विहारको निर्माण गराइन्। त्यहाँ दुई वटा महत्त्वपूर्ण निर्णय भिक्षु सङ्‌‌घले लिए कि आनन्द बुद्धका निजी सहायकका रूपमा रहनेछन् र आफ्नो प्रखर बुद्धि, तेज स्मरण शक्तिका कारण बुद्धका उपदेशहरुलाई सम्झिरहनेछन्। अबका प्रत्येक वर्षावास श्रावस्तीमा नै गर्नेछन्। सड्‌घको निर्णयमा बुद्धले स्वीकृति दिए। श्रावस्तीको नजिक उनले खुँखार डाकु अङ्‌गुलिमालको हृदय परिवर्तन गरे। उनले हजारौ सुत्तको उपदेश लोककल्‌याणका लागि गरेर करोडौ मानिसहरुको कल्याण गर्दै पैतालिस वर्ष बिताए।

धम्म सेनापति सारिपुत्र र मौदगल्यायनको परिनिर्वाण (मोक्ष) एक वर्ष पहिले नै (ई. पू. ४८४) भई सकेको थियो। पञ्चवर्गीय भिक्षुहरुको प्रमुख कौडन्न, काश्यप बन्धु, भिक्षुणी महाप्रजापति गौतमी भिक्षुणी यशोधराका अतिरिक्त अरु कैयौँ भिक्षुणीहरुको पनि परिनिर्वाण (मोक्ष) भई सकेको थियो। बुद्धको उमेर असी वर्षको हुनै लागेको थियो ।

बुढेसका‌लले शरीर जर्जर भएको थियो ता पनि धम्म उपदेश गर्दै रहे। उनी राजगृह पुगे, त्यहाँबाट नालन्दा गए, पातालिगाम (आधु‌निक पाटन) पुगे, त्यहाँ अस्थायी विहार बनाए । उनी उपासकहरुका साथ एक रात त्यही बिताए, अर्को दिन आम्रपालीले भोजनदानका लागि बोलाई। भोजन पश्चात बुद्धले सजगता, सचेतता र ध्यानका बारेमा बताए।

महापरिनिर्वाण

भगवान बुद्ध वैशालीको चापाल चैत्यमा विहार गर्दै थिए। बुद्धले आनन्दसँग भने तथागत तीन महिनापछि महापरिनिर्वाण प्राप्त गर्नेछन्। अर्को दिन भिक्षाटनपछि वैशाली लाई निहार्दै बुद्धले भने, तथागत (बुद्धको एक नाम) अन्तिमपटक वैशाली दर्शन गर्दैछन्, भिक्षुहरुलाई सम्बोधन गरिसकेपछि भिक्षापात्र निशानी का रूपमा भेट दिएर कुशीनगरतिर प्रस्थान गरे।

वैशालीनजिक वेलुवागाममा उनको स्वास्थ्य खराब भयो। आनन्द डराए, तर उनी छिट्टै स्वास्थ भई हाले । बुद्धले आनन्दलाई सम्झाए कि जाति भिक्षु सङ्घलाई उपदेश दिनु थियो, उनले दिइसके, अब जीवनको लक्ष्य पूरा भईसकेको छ। आनन्द आफ्नो दीप स्वयम् बन् (अत्त दीप भवः) आफ्नो शरण स्वयम् बन ।

त्यहाँबाट उनी भाँडागास पुगेर भिक्षुहरूलाई सम्बोधन गरे, त्यहाँबाट हाथीगाम, अम्बागाम, जम्बूगाम र भोगनागाम हुदै पावा पुगे। चुन्द सुनारको बगैंचामा बसे । चुन्दले अत्यन्त श्रदधापूर्वक भगवान बुद्धलाई भोजनका लागि आमन्त्रित गरे। चुन्दनका काष्ठफूलहरुद्वारा तयार गरिएको शूकरमाद्व(सुंगुरको मासु) भगवान बुद्ध‌को बुढो शरीर लाई अपाच्य भयो। असाध्य पीडा हुन थाल्यो। भोजन ग्रहण गरेर तथापात पापी मारमाथि विजय प्राप्त गरे र सम्यक् सम्बोधि पाए।

सुजाताको खीरको त्यो भोजन जसरी सुजाताका लागि असीम पुण्यको कारण बन्यो, त्यसरी नै यो भोजन ग्रहण गरेर तथागत सधैंका लागि मृत्युराज मारको चङ्‌गुलबाट मुक्त भएका छन् । अतस् तिम्रो यो भोजन पनि सुजाताको खीरभन्दा कम पुण्यदायी छैन अनि चुन्दको मनवाट उदासी हटाउनु भनि आनन्दलाई सम्झाए, वैशाख पूर्णिमाको दिन भगवान बुद्ध भिक्षु सङ्‌घका साथ कुशीनगर नजिक मल्लहरुको सालवनमा पुगे । आनन्दले दुई सालवृक्षहरुका बीचमा ओछ्‌‌यान लगाए र भगवान उत्तर दिशातिर मुख फर्काएर पल्टिए । आनन्द‌ले नगर‌मा खबर गरे कि रातको तेस्रो प्रहरमा तथागत महापरिनिर्वाणलाई प्राप्त हुनेछन् ।

दर्शनार्थीहरुको ताँती लागिहाल्यो । त्यस समयमा सुभद्र नामक परिव्राजक आनन्दको छेउ आई बुद्धसँग धम्मदीक्षाको जिद्दी गर्न लाग्यो। उनीहरुको वार्तालाप सुनिरहेका बुद्धले सुवद्रलाई बोलाई धम्म दीक्षा दिए । आनन्दले सोधे, महापरिनिर्वाणका लागि बुद्धले कुशीनगर नै किन चुने, त्यसपछि बुद्धले बताए कि कुनै समय त्यहाँ महासुदर्शन राजाको राजधानी थियो र त्यस नगरको नाम केशवती थियो। भिक्षुहरू सुन, सबै निर्मित वस्तुहरू सकिन्छन्,, मरणशील छन्, नष्टवान छन्।

यो अन्तिम उपदेश दिएर वैशाख पूर्णिमाको रातको तेस्रो प्रहरमा (ईशापूर्व ४८३) तथागतले महापरिनिर्वाण प्राप्त गरे । तथागतको जन्म, बोधि प्राप्त गरेको दिन र महापरिनिर्वाण प्राप्त गरेको दिन वैशाख पूर्णिमा थियो । सुगन्धहरू, फूलहरू, मालाहरुद्वारा पूजा गर्दै र बाजानगाडा‌हरूमा नृत्य गीतहरुद्धारा सात दिनसम्म तथागतको मृतदेहको सम्मान हुदै रह‌यो र सातौं दिन अग्निदाह गरियो । अस्थि धातुहरु, अवशेषहरूलाई आठ भागहरूमा बाँडेर कुशीनगर‌का मल्लहरू, मगध नरेश, अजातशत्रु, वैशालीका लिच्छवीहरू, कपिलवस्तु‌का शाक्यहरु, अल्लकप्पका वल्लीहरू, रामग्रामका कोलीहरु, वेठा तथा पावाका मल्लहरुमा बाँडियो र हर जनपदमा अस्थि धातुहरूमाथि स्तुप बनाइए ।

द्रोण ब्राम्हणले अस्थिकलशमा स्तुप बनाए । बुद्ध दुई प्रकारका हुन्छन्, पन्च्चेक बुद्ध र सम्यक सम्बुद्ध । पच्चेक बुद्ध विलुप्त भएको धम्म मार्गलाई खोजेर निकाल्छन् र त्यसमाथि हिँडेर स्वयम् मुक्त हुन्छन्। सम्यक सम्बुद्ध विलुप्त भएको धम्म मार्गलाई खोजेर न केवल स्वयम् मुक्त हुन्छन बरु धम्मचक्र प्रवर्तन गरेर अनेकौँ मानिसहरूलाई धम्म उपदेश दिएर उनीहरुको मार्गदर्शक बनेर मुक्तिको सहायक बनेर लोक कल्याण गर्छन्।

धम्मको मार्गमा दान, शील, समाधि र प्रज्ञा हुन्छ, धम्म मार्गमा हिँडने गृहस्थ मानिसहरू उपासक हुन्, ध्यान, साधना गर्नेहरू साधक हुन् गृह त्याग गरेर हिँड्‌नेलाई सन्यासी भिक्षुहरु, धम्म रूपी अमृत चाख्ने मानिसहरुका चार अवस्थाहरू जसमा श्रोतपन्न, सकूदागामी, अनागामी र अर्हत हुन्। अर्हत जसको चित्तका राग, द्वेष सम्पूर्ण मैल-मोह सम्पूर्ण रूपमा समाप्त भई पारमिताहरू पूरा हुन्छन्। जन्म मरणको भवचक्रबाट पूर्णत‌या मुक्त भईसक्छन् । उनीहरुको पुनः जन्म हुने छैन्। बुद्ध अर्हत थिए ।

सिद्धार्थ एक महारानीको कोखबाट जन्म लिए तर राजमहलमा होइन, एक रुखमुनि र खुला प्रकृतिमा ६ वर्षसम्म उनले कन्दराहरु , गुफाहरु, वनजङ्गलहरु, पहाडहरु, आश्रम र विहारहरुमा कठिनभन्दा कठिनतम् तयस्या गरे, साधना गरे र बुद्धत्व प्राप्त गरे। एक वृक्षमुनि खुला प्रकृतिमा अनन्त करुणा र मैत्रीले भरिएको जब उनले धम्म उपदेश दिन शुरू गरे, त्यो पनि पञ्चवर्गीय भिक्षुहरुलाई एक रुखमुनि खुला प्रकृतिमा दिए । पैतालिस वर्षको लामो समयसम्म धम्मको उपदेश दिदै भव्य विहारहरू, आश्रमहरु र निवासस्थलहरू‌मा रहे तर जब महापरिनिर्वाण प्राप्त गरे त्यो पनि एक रुखमुनि खुला प्रकृतिमा त्यसैले भगवान प्रकृतिका नियमहरु, रह‌स्यहरुलाई निकै राम्ररी बुझ्थे र ध्यान गर्दागर्दै उसले देखे कि बाहिरवाट ठोस देखिने यो शरीर बास्तवमा तरङ्‌हरुको समू‌ह‌मात्र हो र यी तरंङ्‌गहरू हरपल उत्पन्न हुन्छन र नष्ट हुन्छन् । यी सबै भगवान बुद्धले सारा प्रयोग आफ्नो शरीर चित्त र प्रकृतिको प्रयोग‌शाला गरे भने वैज्ञानिकहरू‌ले परमाणुहरू उत्पन्न हुने र नष्ट हुने प्रयोग प्रयोगशा‌लामा गरे।

गौतम बुद्धले विपस्सना साधना गर्दागर्दै अणु परमाणुहरुको विच्छेदन विश्लेषण विभाजन गर्दा देखे कि मानिसहरु बाहिरी कारणहरू जस्तै गरिबी, भोकमरी, असमानता उच्चनीच, विरामी, बुढेसकाल, मृत्यु प्राकृतिक विपतिहरुबाट दुःखी त छन नै, मनले चाहे‌को नहुँदा, नचाहिएको कुरा हुदा, प्रिय जनहरूसँगको विछोड, अप्रिय मानिसहरूसंगको मिलनजस्ता स्थितिहरुबाट पनि दुस्खी हुन्छन्। बुद्धले ध्यान गर्दागर्दै खोजी गरे कि हाम्रो दुस् खको मूल कारण यो हो कि हामी घट्न लागेका घटनाहरु र स्थितिहरूका सही स्वभावसँग अन्जान छौं। टाढाबाट प्रत्यक्ष देखिने वस्तु स्थितिहरुलाई नै वास्तविक ठानिदिन्छौं र तिनकाप्रति रागद्धेष मोहका गहिरा-गहिरा संस्कार बनाउदै जान्छौ । संसारमा हर चिज परिवर्तनशील छ म र मेरो को कुनै अस्तित्व छैन।

बुद्धले आर्य अष्टाङ‌गिक मार्ग बताए जसमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम र सम्यक समाधि रहेका यी मार्गमा हिडे दुखबाट मुक्ति पाउने र बास्तविक सुख शान्ति प्राप्त हुने बताए।

शरीर र मन लगातार एक अर्कासँग प्रतिक्रिया गरेर प्रभावित गरिरहन्छ । इन्द्रियहरुको जब आफ्ना विषयहरनसँग टकराव हुन्छ जस्तो कि आँखाको रुपसँग, कानको ध्वनीसँग, नाकको गन्धसँग, जिब्रोको स्वादसँग, त्वचाको स्पर्शसँग, मनको विचारसँग भाषाले सूचित गर्छ कि टकराव भयो र यस्तो हुनासाथ पूरै शरीरमा एक तरङ्‌ग प्रवाहित हुन्छ।

संखारहरु बन्ने मूल कारण यीनमा स्वभावप्रति हामी अज्ञान हुनु हो । अज्ञानका कारण यिनका प्रति अन्जानमै लगाव पैदा गरिहाल्छौं र मन त्यसैमा गोता लगाउँछ । अज्ञानका कारण बन्ने यी संखारहरूका कारण भवचक्र यस सिद्धान्तलाई पटिच्चसमुत्पाद भन्दछ। विपस्सना शारीरिक संवेदनाहरूको माध्‌यमले मानसिक विकारहरुलाई जरैदेखि निकाल्ने अद्‌भूत वैज्ञानिक विद्या हो। उपासिकाहरु‌ले आफ्नो बहुमूल्य समय यस सिद्धान्तलाई आफ्नो अनुभूतिमा अपनाएर हेर्नको लागि कुनै प्रशिक्षित विपस्सना शिक्षकको रेखदेखमा कम से कम एउटा दश दिवासीय शिविरमा सामेल भएर विपस्सना साधना सिक्नुपर्छ। यसको अर्थ हेर्नु, बुझ्नु, परीक्षण निरीक्षण गर्नु, शोध गर्नु, विश्लेषण गर्नु, निष्कर्ष निकाल्नु आदि हुन्छ । यसमा पाँच शीलहरूको पालना गर्नु पर्ने हुन्छ ।

पहिलो शील हो – जीव हिंसाबाट अलग रहनु
दोस्रो शील हो – चोरीबाट टाढा रहनु
तेस्रो शील हो – ब्रम्हचार्यको पालना गर्नु र व्यभिचारबाट टाढा रहनु
चौंथों शील हो – असत्य भाषणबाट टाढा रहनु
पाचौं शील हो – मद्यपान वा लागु पदार्थको सेवनबाट टाढा रहनु
वैज्ञानिकहरूले अनुसन्धान गरेर यो सिद्ध गरेका छन्‌ कि क्रोध, घृणा र ईश्याका कारण शरीरको बिग्रिएको रासायनिक सन्तुलन मङ्‌‌गल मैत्रीको साधाना गर्नाले ठिक गर्न सकिन्छ । मङ्‌गल मैत्रीको अभ्यासले बढेको कोलस्ट्रोल कम हुदै जान्छ, रोगहरूसँग लड्‌न सक्ने प्रतिरोधात्मक क्षमता बढ्‌छ।

बुद्ध‌का उपदेशहरू: उपदेश पद्धति

पैतालिस वर्षसम्म धम्मचारिका गर्दै भगवान बुद्धले बयासी हजार उपदेशहरू दिए। भगवान बुद्धको धम्म सिकाउने पद्धति अदभूत र सरल थियो। सबै भन्दा पहिला उनी स्रोताहरुको मानसिक स्थिति बुझ्थे र स्रोताहरुको मानसिक स्तरलाई ध्यानमा राखेर दिनप्रति दिनमा केही सामान्य घटनाहरूको चर्चा गर्थे। जब सुन्नेहरू अलि गम्भीर बन्थे र भगवान बुद्धसँग तारतम्य स्थापित हुन्थ्यो, त्यसबेला उनी धम्मका सामान्य र मूलभूत सिद्धान्तहरु जस्तै दान, नैतिकता, शील, सदाचार आदिको चर्चा गर्थे । जब स्रोताहरुको मनस्थिति एकाकार हुन पुग्थ्यो अनि मात्र अनित्य, प्रतीत्य, समुत्पाद, प्राज्ञ र आर्य आण्टाङ‌गिक मार्ग सम्झाउँथे कि कसरी दुःख पैदा हुन्छ, कसरी दुःखबाट छुटकारा पाउन सकिन्छ, परम शान्तिः परम सुख कसरी प्राप्त गर्न सकिन्छ ? उनले सरल र जनताले बुझ्न लायक बनाउनका लागि दिनप्रतिदिन घट्ने सामान्य घटनाहरुलाई उदाहरण र माध्यम बनाउँथे। बुद्धले यसरी विभिन्न कथाहरु जोड्थे ।

पायेक्का हात्तीको कथा

कोशल नरेश प्रसेनजितसँग पायेक्का नामक हात्ती थियो जो आफ्नो बल, बहादुरी र साहसका लागि प्रख्यात थियो, बेजोड थियो। हात्ती विशाल एवम् चलाखीमा बेजोड थियो। राजाको शान र उसमाथि गर्व थियो, भनिन्थ्यो कि यदि महाराज प्रसेनजित पायेक्का हात्तीमा सवार छन भने युद्ध उनैले जित्ने‌छन् र कुनै पनि सेनाले हराउन सक्दैनथ्‌यो। पायेक्काले कराएको भयंकर आवाज सुनेर दुश्मनहरू‌को भाग‌दौड मच्चिन्थ्यो। अतस् दुश्मन्‌का सेनाले पायेक्का हात्तीलाई मार्न अनेक षड्यन्त्र रच्थे तर मार्न सकेका थिएनन।

समय बित्‌दै जाँदा हात्ती बुढो भयो। उसको पुरानो माउते बुढो भएर सेवानिवृत भई सकेको थियो। एकदिन पायेक्का हात्ती तलाउमा नुहाउन‌ जाँदा हिलोमा फस्यो। हिलोबाट निस्कन अनेक गर्थ्यो तर सकेन। त्यो कुरा चारैतिर फैलियो। हात्तीले कमजोर महसुस गर्यो। सबैले अनेक उपाय लगाए तर त्यो दलदलबाट बाहिर ल्याउन सकेनन। आफ्नो प्रिय हात्तीको त्यो दुर्दशा देखेर राजा निकै दुस्खी भए ।

हात्तीको पुरानो माउते सेवानिवृतपश्चात बुद्धको शरणमा धम्म सिक्दै थियो तब बुद्धको कानमा यो कुरा पर्यो र माउते हात्तीलाई सहायताका लागि पठाए। त्यो दलदलमा फसेको हात्तीलाई देखेर माउते हात्ती पहिला त बेस्सरी हाँस्यो, त्यसपछि युद्धको विगुल बजाउन आदेश दियो । युद्धको विगुल सुन्नेवित्तिकै पायेक्का बेसरी करायो, पुरै श्रावस्तीमा उसको आवाज गुञ्जियो र फुर्तिका साथ द‌लदलबाट बाहिर आयो।

भिक्षुहरूले भगवान बुद्ध‌लाई सोथे, कि हाँस्नु र विगुल बजाउनुको कारण। भगवान बुद्धले भन्नुभयो कि हाँस्नुको कारण उसले यो कसरी विर्सन सक्यो कि ऊ एक महान हात्ती हो, उसले अनेक युद्धहरू जितेको छ र विगुल बजाउन लगाएर हात्तीलाई उसको वास्तविक स्वभावको सम्झना गराएको थियो । यसकारण आफ्नो क्षमता, खुबीलाई हामीले चिन्न सकेनौ भने त्यो दुःखको कारण बन्छ भनि बुझाए।

पटाचार

कोशल राज्यको राजधानी श्रावस्तीमा एक अत्यन्त धनी दम्पत्ती थिए जसको एक छोरा र छोरी थिए । आमाबुवा काममा व्यस्त रहेकाले छोराछोरी हेर्न अलग अलग नोकर राखेका थिए। छोरी बीस वर्षकी हुदा विवाहको कुरा छिने तर छोरीभने नोकरसँग नै भागी । त्यसको दुई वर्षपछि एक छोरालाई जन्माई र केही समयपछि फेरी गर्भवती भई। अति नै गरिब भए‌का कारणले ऊ माइत जाने निर्णय गरी र जाने क्रममा बाटामा ठुलो हुरी बतास आई घनघोर वर्षा हुन थाल्‌यो। त्यो बेला उसलाई प्रसव पीडाले च्याप्न थाल्यो। ऊ छटपटाई, पतिले सोच्यो, केही काठ काटेर ल्याउछु र पातले छोपेर कुटी बनाउछु भनि जङ्गलतिर गयो तर ऊ फर्किएन । उसले एक बच्चालाई जन्म दिई र दुवै बच्चालाई लिएर पतिलाई खोज्न हिंडी अलिकति हिडेपछि पतिको लाश भोटी जो सर्पले डसेर निलो भई सकेको थियो। ऊ रुदै कराउदै बच्चालाई च्यापेर श्रावस्तीतिर लागी।

बाटामा अचिरवती नदी पथ्र्यो, वर्षाका कारण नदीमा बाढी आएको थियो। नदीमा बाढी आएकाले दुवैवच्चालाई सँगै तार्न मुस्किल भएकाले सानो बच्चालाई कपडाले बेरेर झाडीमा सुताएर ठुलो बच्चा तारी र फर्कने क्रम‌मा एउटा गिद्धले सानो बच्चालाई झम्टदै थियो त्यो देखेर दुवै हात हल्लाउन थाली तर गिद्ध‌ले बच्चालाई पन्जामा च्यापेर उडिहाल्यो। उत्ता ठूलो बच्चा भने आमाले किन बोलाई भनि नदीमा आउँदा नदीले बगाएर लग्यो । त्यो विचरीको दुस् खको सीमा रहेन ।

रुदै, कराउदै श्रावस्तीको मशानघाट हुदै हिड्दै थिई र त्यसवेला थाहा पाई कि आधिवेहरीका कारण उसको बुवाको सात तले घर ढलेर परिवारका सबै सदस्य दबेर मरेछन् । घाटमा तिनीहरूले लाश जलाइदै रहेछ । दुख सहन नसकेर ऊ पागल भई। सबैले बौलाही भन्न थाले। श्रावस्ती तिर घुम्न थाली जेतबन विहारमा बुद्ध धम्म दीक्षा दिदै थिए। त्यो बौलाही त्यही पुगी । सबैले त्यसलाई भगाउन खोजे, एक्कासी ! बुद्ध‌को आँखा त्यसमाथि पर्यो । बुद्धले आफ्नो छेउमा बोलाए। करुणापूर्ण स्वरमा ‘मेरो दुखिया छोरी तिमी होशमा आऊ ।’ अमृत भरिएको वाणी सुन्दा ऊ अलिकति होशमा आई । उसलाई लज्जाबोध हुन थाल्यो छेउमा उभिए‌को एक सज्जनले उसमाथि आफ्नो चादर ओढाइ दियो । उसले तुरुन्तै चादर ओढी हाली। चादर ओढेको त्यस दुखियाको नाम ‘पटाचारा’ रहन गयो ।

बिस्तारै विस्तारै ऊ होशमा आई, वाणी सुन्दा सुन्दा चित्त एकाग्र हुन थाल्यो। बुद्धले उसलाई भिक्षुणीकहाँ पठाएर प्रव्रजित गराए र पटाचारा आफू जस्ता दुःखी नारीहरूलाई धम्मको मार्गमा परिचालित गरेर दुःख मुक्त गराउनमा बिताई। दुःखीहरू‌को कल्याणको कारण बनी।

किसा गौतमी

श्रावस्तीको एक अत्यन्त निर्धन समाजमा दलित मानिएको कुलमा गौतमी तिस्सा नाम गरेकी युवती थिई। अत्यन्त दुब्ली भएका कारण उसको नाम किसा गौतमी भयो। उसको विवाह एक धनी परिवारमा भएको थियो। गरिव घरबाट आएको हुनाले पतिवाहेक घरका बाँकी मानिसहरुले आदर गर्दैनथे तर जब उसले एक सुन्दर पुत्रलाई जन्म दिइ अनि परिवारमा प्रिय भई।

एकदिन बगैंचामा खेलिरहे‌को वेला सर्प टोकाईबाट बच्चाको अकालमा मृत्यु भयो। ऊ विक्षिप्त भई र बच्चाको लाशलाई छातीमा च्यापेर रुदै कराउँदै बुद्ध कहाँ गई र भन्न थाली, ‘मेरो बच्चा मरेको होइन बेहोस भएको हो यसलाई सञ्जीवनी औषधीद्वारा होसमा ल्याइदिनुहोस्’ हजुर त भगवान हुनुहुन्छ भनि विलाप गर्न थाली । भगवान बुद्धले त्यस‌को मनस्थिति बुझिहाल्नुभयो र भन्नुभयो, ‘ल त्यसो हो भने तिमीले परिवारमा कोही नमरेको घर‌बाट एक चिम्टी सर्सिउ ल्याउनु ‘ भनि पठाउनु भयो । गौतमीले प्रत्येक घर चाहारी तर मान्छे नमरेको घर भेट्टाउन सकिन । वल्ल उस‌को मनस्थिति बुझ्नलायक पाएकोमा बुद्धले सम्झाउनुभयो ।

तथागतले उदय र व्ययको अनुभवविना जिउनुको अपेक्षा, उदय व्ययको अनुभव गर्दै एक दिनको जीवन नै बढी श्रेष्ठ हो भनि धम्म दीक्षा दिनुभयो । ऊ भगवान बुद्धको एक प्रमुख शिष्या बनी धम्म लाभ गराउन कैयौ दुखिया नारीह‌रु‌लाई दुःखबाट मुक्त गराउन सहायक बनी।

अङ्‌गुलिमाल

अङ्‌गुलिमालका पिता गार्ग्य र माता मैत्रायणी थिए। अङ्‌गुलिमालको वास्तविक नाम अहिंसक थियो । उसका पिता कोशल नरेशका दरबारिया थिए, पढनका लागि अङ्‌गुलिमाललाई तक्षशिला पठाइएको थियो। त्यहाँ राजकुमारहरू र धनाढ्‌य परिवारका बच्चाहरु आउँथे। अङ्‌गुलिमाल एक शीलवान र कुशाग्र बुद्धिको बालक थियो। गुरुमाताको स्नेहपात्र थियो, उसको ईर्ष्या अन्य राजकुमारले गर्थे र गुरुमातासँगको अवैध सम्वन्धको मिथ्या लाच्छना लगाएर गुरुको कान भरे।

गुरुले मिथ्या कुरामा विस्वास गरी अहिंसकलाई मृत्युको सजाय दिने षडयन्त्र रच्यो र गुरुदक्षिणाका रूपमा दायाँ हातका एकहजार औलाहरू ल्याउने आदेश दियो। गुरुको आज्ञापालन गर्न अहिंसक कोशल राज्यको जालिनी जङ्‌गलमा गयो र मान्छेको हत्या गरी औला काटेर माला गाँसेर लगाउन थाल्‌यो। त्यसैले अहिंसक बाट ऊ अङ्‌गुलिमाल बन्न पुग्यो।

बुद्धत्व प्राप्तिको बीसौ वर्षमा जब भगवान बुद्ध श्रावस्तीको जेतवनाराममा थिए त्यसबेला उनले अङ्‌गुलिमालको कथा सुने। ‘विचरा एक बाटो बिराएको छ र ऊ दुःखको गर्त्तमा फस्दै गईरहेको छ । त्यसलाई धम्मको वाटोमा ल्याउने निर्णय गरे र अङ्‌‌गुलिमाल भएतिर बुद्ध हिंडे ।
अङ्‌‌गु‌लिमालले टाँढैबाट त‌थागत‌लाई आफूतिर आउँदै गरेको देखेर मनमा सोच्यो, मानिस समूहमा त यतातिर आउने साहस गर्दैनन् तर श्रमण एक्लै आईरहेको छ । उसले हत्या गर्ने मनसायले कराएर ‘पखु भन्यो। तथागतले मङ्गल मैत्री र करुणाले भरिएको शब्दमा भने, ‘अडगुलिमाल म त रोकिएको छु, तिमी पनि पापकर्म गर्नबाट रोकिए । तिमीभित्र कुशल अझै मरेको छैन, तिमीले अवसरमात्र दियौ भने कायापलट गर्न सक्छौ।’
अङ्गुलिमाललाई बुद्धको वाणीले तानिहाल्यो र आफ्नो घाटीका औलाका माला झिकेर फालिदियो। बुद्धको शरणमा परी धम्मको याचना गर्न थाल्यो। अङ्‌गुलिमाल भिक्षु बनेर धम्म दीक्षा लिन थाल्यो, उसको हृद‌यबाट मङ्गलमैत्री निस्क्यो र अन्त्यमा अर्हत पद प्राप्त गर्यो।

विशाखा र मिजार

विशाखा एक अत्यन्त धनवान व्यक्ति धनञ्जयकी पुत्री थिई र उसकी माताको नाम सुमनादेवी थियो। ७ वर्षको उमेरमा ऊ भगवान बुद्ध‌‌को शरणमा आई र श्रोतापण्णअवस्था प्राप्त गरी । सोह्र वर्षको उमेरमा अति धनी व्यक्ति मिगारको छोरा पुन्नवधनसँग विवाह भयो।

विशाखाका ससुरा निगष्ठहरुका अनुयायी थिए। एक दिन उनका ससुरा भोजन गर्दै थिए, त्यसवेला एक बौद्ध भिक्षु भिक्षाका लागि आए। मिगार भिक्षुलाई नदेखेको झै गरेर भोजन गरिरहे । विशाखाले नम्र स्वरमा भनि कि तपाई जानुहोस् किन कि उहाँले बासी खाना खादै हुनुहुन्छ । मिगारले यसलाई आफ्नो अपमान ठान्यो र विशाखालाई घरबाट निकाल्नका लागि पञ्चायत बोलायो । विशाखाले आफ्नो सफाइ दिदै भनी कि उसका ‘ससुरा यस समयमा कुनै दानपुण्य त गर्दैनन्, जुन दानपुण्य पहिला गरेका थिए, त्यसैको फल अहिले खाईरहेका छन ।’ त्यसैले मैले भिक्षुलाई ससुराले बासी खाना खादै हुनुहुन्छ भने।

पञ्चायत‌ले विशाखालाई निर्दोष मान्यो र उसको ससुरालाई दोषी। विशाखाले भगवान बुद्ध‌लाई भोजनदानका लागि आफ्नो घरमा बोलाई। भोजनपश्चात भगवान बुद्धले धम्म उपदेश दिए, उपदेश सुनेर, मिगारभित्र धम्म (धर्म) जागृत भयो र ऊ श्रोतापण्ण अवस्थामा पुग्यो। विशाखालाई धम्ममाता मान्यो र त्यसवेला देखि विशाखाको नाम मिगार‌माता विशाखा रहन गयो।

जीवक

जीवक कौमार भृत्यले तक्षशिला विश्वविद्यालयमा सात वर्षसम्मको पढाइ गरेका थिए। राजगृह फर्केर उनले मानिसहरुको उपचार शुरु गरे र छिट्टै प्रख्यात पनि भए । राजा विम्विसारको रोग ठिक गरे, मगध नरेशको राजवैद्य भए। उनले टाउकाको शल्यक्रिया, आन्द्राको शल्यक्रिया, र यस प्रकारका अनेकन अप्रेशनहरू पनि गरेका थिए। जीवक भगवान बुद्धको उपासक बन्यो। रोगीहरूको सेवा गरिरह‌यो तर बुद्ध महापरिनिर्वाण हुनु भन्दा तीन वर्ष अगाडि बुद्धले जीवकलाई भिक्षु बनाए।

आम्बपाली

आम्बपाली वैशाली राज्यमा बस्ने एक ऋषिकी पुत्री थिई। आँपको बगैंचामा जन्म भएकाले उसको नाम आम्वपाली राखिएको थियो । ऊ यति सुन्दर थिई कि टाढा- टाढाका राज्यहरूसम्म उसको रूपको चर्चा थियो। अनेकौ राजकु‌मारहरु उसँग विवाह गर्नका लागि प्रस्ताव पठाउन थाले । युद्धको स्थिति सम्म आइपुगेकाले अन्ततोगत्वा आम्बपालीलाई वैशालीको नगरवधु बनाइ‌यो। सौन्दर्यका साथै नाचगानका लागि पनि प्रख्यात थिई।

वैशालीमा आम्बपालीको ऑपहरूको निकै ठूलो बगैंचा थियो। एकपटक भिक्षु सङ्‌घ त्यही रोकिएको हुदा तथागतसँग प्रवचन सुन्न आई। भगवान बुद्ध‌का करुणामयी दृष्टिले अम्बपालीको दुःखहरू कम भए। प्रवचन सुनेपछि अर्को दिन भिक्षु सङ्‌घलाई भोजनका लागि निमन्त्रणा दिई । आम्बपालीले आफ्नो आँपहरूको बगैंचा भिक्षु सङ्‌घलाई दान दिई।

शील-समाधी र प्रज्ञाको मार्गमा हिँड्दा हिँड्दा आम्बपालीलाई अर्हत प्राप्त भयो।

भगवान बुद्ध‌को प्रभाव दिनप्रतिदिन बढदै गएपश्चात बुद्धको महत्व कम गराउन अनेकन षड्यन्त्रहरु पनि रचिए‌का थिए। यश, पद र पैसाको आरोप त लगाउन सक्दैनथे किनकि भगवान स्वयम् राजपाट नै त्यागेर आएका छन् । विरोधीहरूले चिन्चा नामक एक सुन्दर ब्राहम्‌णी र मिथ्याचारी सुन्दरीलाई तयार गरे र उसको छवि धमिल्याउन खोजे । यस्तै गरी बुद्धका भाइ देवदत्तको बुद्धप्रति बढ्दो ईर्श्याका कारण देवदत्तलाई तथागतको सबैभन्दा ठुलो शत्रु बनाइदियो। देवदत्तले कैयौं पटक गौतम बुद्धलाई मार्ने प्रयास गरेका थिए ।

बुद्धका अन्य विशेषताहरू पनि रहेका छन् । बुद्धको प्रासङ्‌गिकतामा
सामाजिक समानतामा योगदान,
सामाजिक समरसता,
जातिको कुनै स्थान छैन,
धर्मनिरपेक्षता,
प्रजातन्त्रमा योगदान,
गरिबी, अपराध, हिंसा र आतङ्‌कवादसँग लड्‌ने उपाय,
राजनीतिमा धम्म,
शासनमा धम्म,
गणराज्यको सुरक्षा,
अन्तराष्ट्रिय सम्बन्ध,
गृहस्थ एवम् पारिवारिक जीवनका लागि उपदेश,
आम्दानी र खर्चको सन्तुलन,
श्रमको महत्त्व,
प्रेम र सौहार्दको महत्व,
धार्मिक क्रान्ति,
सामाजिक क्रान्ति,
पुत्र- पुत्रीमा समानता

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्