काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय अनलाइन मिडिया र सामाजिक सञ्जालमा बढ्दै गएको आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्रीहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता कपोलकल्पित सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाइरहेको भन्दै सरकारले यसलाई अत्यन्त गम्भीरतापूर्वक लिएको स्पष्ट पारेको छ ।
मन्त्रालयले सबै समाचार प्रदायक संस्था तथा व्यक्तिहरूलाई आधिकारिक निकायबाट पुष्टि नभएका कुनै पनि समाचार वा सूचना प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ ।
यदि कसैले प्रचलित कानुनको बर्खिलाप हुने गरी भ्रामक समाचार फैलाएको पाइएमा विद्युतीय कारोबार ऐन तथा अन्य सम्बद्ध कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत सरकारले दिएको छ ।
साथै, आम सर्वसाधारणलाई यस्ता सूचना फैलाउन सहयोग पुग्ने क्रियाकलापमा संलग्न नहुन र सामाजिक सञ्जालमा कुनै पनि सामग्री साझा गर्नुअघि त्यसको आधिकारिकता जाँच गर्न मन्त्रालयले अपिल गरेको छ ।
भ्रामक सूचनाको बारेमा कुनै गुनासो वा जानकारी भएमा मन्त्रालयको वेबसाइटमा रहेको “सामाजिक सञ्जाल गुनासो दर्ता” पोर्टल वा तोकिएको फोन नम्बर र इमेलमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्