काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले नयाँ पार्टी गठनको विषय उठाएका छन्।
काठमाडौँको महाराजगन्जमा जारी समूहको छलफलमा निवर्तमान केन्द्रीय सदस्यहरू कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं, गुरु बराल र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्र सम्मानजनक अस्तित्व नरहे अलग भएर अगाडि बढ्नुपर्ने धारणा राखेका हुन्।
छलफलमा सहभागी एक नेताका अनुसार, पार्टीभित्र उचित स्थान र सम्मान नपाइए विकल्प खोज्नुपर्ने ती नेताहरूको तर्क छ। यद्यपि, सम्मानपूर्ण सहकार्यको वातावरण बनेमा भने १५ औँ महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
यसैबीच, देउवा समूहले सर्वोच्च अदालतको पछिल्लो फैसलाप्रति केही बुँदामा असहमति रहे पनि त्यसलाई स्वीकार्दै अघि बढ्ने निर्णय गरेको छ।
अर्कोतर्फ, महामन्त्री गगन थापाले अदालतको निर्णयलाई जितहारको रूपमा नभई विधि र लोकतान्त्रिक अभ्यासको रूपमा बुझ्न आग्रह गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत यो निर्णयले पार्टीलाई एकताबद्ध र बलियो बनाउने विश्वास व्यक्त गर्दै सबै तहका नेता कार्यकर्तालाई पार्टीको पुनर्जागरणमा सकारात्मक भूमिका खेल्न आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस्