पूर्वराजा ज्ञानेन्द्रको आग्रह: सबैका माग समेटेर संवैधानिक समाधान खाजौं

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० चैत्र २०८२, सोमबार
2 Min Read
Aa
(161020) -- KATHMANDU, Oct. 20, 2016 (Xinhua) -- Nepalese Former King Gyanendra Shah speaks during the International Grand Hindu Conference in Kathmandu, Nepal, Oct. 20, 2016. More than 1,000 Hindus from across the globe have gathered in Nepal on Thursday to participate in the International Grand Hindu Conference. (Xinhua/Sunil Sharma) (dtf)

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा देशवासीका नाममा सम्बोधन गर्दै मुलुकको वर्तमान राजनीतिक र आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

आईतबार सन्देश जारी गर्दै उनले विगतका गल्तीबाट पाठ सिकेर सबै पक्षलाई समेट्ने गरी संवैधानिक समाधान खोज्न ढिलाइ नगर्न राजनीतिक दलहरूलाई आह्वान गरेका हुन् ।

- Advertisement -
Ad image

पूर्वराजा शाहले विगतका वर्षहरूमा नेपाल विकासका दृष्टिले ओरालो लागेको र मुलुक केवल राजनीतिक प्रयोगशालामा सीमित भएको टिप्पणी गरे । ‘राजनीति, राज्य पद्धति र शासन प्रशासनमा निकै हेरफेर भए पनि त्यो कोरा परिवर्तन मात्र भयो,’ उनले भने, ‘दलदलको खलबलमा हामी धेरै दगुरियौँ तर राष्ट्रको श्रीवृद्धिमा पछि पर्‍यौँ ।’ विधि, पद्धति र व्यक्ति बदलेर मात्र स्थिति नसुध्रिने कुरा विगतले सिकाएको उनको तर्क छ ।

सम्बोधनका क्रममा उनले राजनीति र राज्य सञ्चालनमा युवा पुस्ताको बढ्दो संलग्नतालाई उत्साहजनक विषय भनी प्रशंसा गरेका छन् । पढेलेखेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।

मुलुक चौतर्फी समस्याको चाङमा रहेको भन्दै पूर्वराजाले आर्थिक अवस्था उकास्न र बाह्य शक्तिहरूसँगको सद्भाव बढाउन ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । ‘आन्तरिक सुरक्षा प्रणाली अत्यन्तै नाजुक अवस्थामा छ,’ उनले भने, ‘नयाँ वर्षमा जीउधनको सुरक्षा र अत्यावश्यक वस्तुको संरक्षण गर्दै मानवीय सुरक्षाको प्रत्याभूति दिन राज्यको गहिरो ध्यान पुग्नुपर्छ ।’

निषेध, फुट र प्रतिशोधको राजनीतिले देश कमजोर हुने भन्दै पूर्वराजा शाहले संवाद, सहमति र सहकार्यको बाटो रोज्न आग्रह गरे । उनले भने, ‘जनचाहनालाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौँ । सबै पक्षको माग सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौँ ।’

नेपाललाई आफ्नै मौलिक सनातन पहिचानबाट परिचालित र प्रतिष्ठित बनाउनुपर्नेमा जोड दिँदै उनले सम्बोधनको अन्त्यमा सबै नेपालीको कल्याणका लागि पशुपतिनाथसँग प्रार्थना गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्