मन्त्रीको नाम टुंग्याउन रवि-बालेन छलफलमा: आजै रातभरीमा टुंग्याउने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ चैत्र २०८२, बिहीबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मन्त्रीको नाम टुंग्याउने विषयमा गहन छलफलमा जुटेका छन्।

बिहीबार संघीय संसद् सचिवालयमा सांसदहरूको शपथग्रहण सम्पन्न भएपछि र रास्वपा केन्द्रीय कार्यालयमा शाहलाई संसदीय दलको नेता चयन गरिएपछि उनीहरूबीच छलफल सुरु भएको हो । रास्वपा नेताहरूका अनुसार, कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा अझै अन्तिम टुंगो लागिसकेको छैन ।

- Advertisement -
Ad imageAd image

स्रोतका अनुसार, उनीहरूबीच बुढानीलकण्ठस्थित रवि लामिछानेको निवासमा छलफल भइरहेको छ । शुक्रबार प्रधानमन्त्रीसँगै शपथ लिने केही मन्त्रीको नाम आज रातिसम्म टुंग्याउने प्रयास भइरहेको रास्वपाका एक पदाधिकारीले बताएका छन्।

यसैबीच, रास्वपाका सभापति रवि लामिछानेले मन्त्री र सभामुख चयनलगायतका विषयमा नेतृत्वमाथि विश्वास गर्न सांसद तथा केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्।

बिहीबार वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा उनले मन्त्री छनोटको विषयमा अनावश्यक दबाब वा ‘लबिइङ’ नगरी नेतृत्वलाई विश्वास गर्नुपर्नेमा जोड दिएका हुन्।

उक्त बैठकमा वरिष्ठ नेता बालेन् शाह सहितका पदाधिकारीहरू उपस्थित थिए। बैठकमा सभापति लामिछानेले नै शाहलाई संसदीय दलको नेताका रूपमा प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई केन्द्रीय समिति र संसदीय दलले सर्वसम्मत रूपमा पारित गरेको बैठकपछि रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

संयुक्त बैठकमा सभापति लामिछानेले मन्त्री र सभामुख छनोटका विषयमा पनि धारणा राखेका थिए। मन्त्री बन्नका लागि व्यक्तिगत रूपमा ‘लबिइङ’ नगर्न र नेतृत्वको निर्णयलाई स्वीकार गर्नुपर्नेमा उनले विशेष जोड दिएका थिए।

रास्वपाले मन्त्रालयको संख्या घटाएर १५ देखि १८ वटामा सीमित गर्ने तयारीसमेत गरेको छ। उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेलाई मन्त्री बनाउने सम्भावनाबारे पनि छलफल भइरहेको बताइएको छ। त्यस्तै, महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा तथा सांसदहरू शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे र सस्मित पोखरेललगायतका नाम पनि चर्चामा छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्