काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय पुरुष टोलीको रिक्त रहेको मुख्य प्रशिक्षकमा इटालीका प्रशिक्षक गुग्लिएर्मो एरिनालाई नियुक्त गरेको छ । एन्फा प्रवक्ता सुरेश शाहले प्रशिक्षक गुग्लिएर्मोलाई भित्र्याएको पुष्टि गरे, तर उनको आधिकारिक सम्झौता भने हुन बाँकी नै रहेको बताए ।
प्रवक्ता शाहका अनुसार एन्फाले प्रशिक्षकको अन्तर्राष्ट्रिय खुला आह्वान गर्दा विश्वभरिबाट ८ सय भन्दा बढी प्रशिक्षकको आवेदन परेको थियो ।
त्यसबाट छनोट गर्दै प्रारम्भिक चरणमा १० जना उमेदवार सूचीकृत गरिएको थियो भने अन्तिम चरणमा तीनजना उमेदवारसँग विस्तृत प्रस्तुति र अन्तर्वार्ता सम्पन्न गरिएको थियो । अन्तिममा छनोट समितिको सिफारिसमा एरिनालाई चयन गरिएको प्रवक्ता शाहले बताए ।
उनको नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयमा श्रम स्वीकृति लगायत अन्य प्रक्रिया चलिरहेको पनि प्रवक्ताले बताए । अस्ट्रेलियाली प्रशिक्षक म्याट रसले राष्ट्रिय टोलीबाट राजीनामा दिएपछि तीन महिनादेखि पुरुष टोली प्रशिक्षकविहीन थियो ।
रसले छोडेपछि एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्काले एसियन कप छनोटमा राष्ट्रिय टोली सम्हालेका थिए । राष्ट्रिय टोलीको प्रशिक्षक बन्नका लागि प्रो लाइसेन्स आवश्यकता पर्छ । इटाली र स्विट्जरल्यान्डको नागरिकता प्राप्त गुग्लिएर्मो यूईएफए प्रो लाइसेन्सधारी हुन् ।
तीन महादेशका विभिन्न राष्ट्रिय टोली तथा व्यावसायिक क्लबहरूमा तीन सय बढी प्रतिस्पर्धात्मक खेलको उनीसँग अनुभव रहेको बताइएको छ । उनले लाओस् पुरुष राष्ट्रिय टोली तथा यु २३ टोलीका मुख्य प्रशिक्षकको रूपमा तथा ओमान प्रो लिग क्लब फान्जा क्लबका प्रशिक्षक भएर काम गरिसकेका छन् ।
त्यस्तै मोरक्को, अल्जेरिया, युएई, चीन, सिंगापुर, बेनिन र बुर्किना फासोका शीर्ष डिभिजन क्लबहरूमा पनि काम गरेको उनीसँग अनुभव रहेको एन्फाले जनाएको छ । शनिबार काठमाडौँ आएका प्रशिक्षकले राति नै दशरथ रङ्गशाला आएर राष्ट्रिय लिगको खेल हेरेका थिए ।


प्रतिक्रिया दिनुहोस्