काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका छन्। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले ट्रुथ सोसलमा लेखेका छन्- अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका छन् ।
राष्ट्रपति ट्रम्पले एबीसी न्युजसँगको टेलिफोन अन्तर्वार्तामा अमेरिकी आक्रमणले ‘पहिले नै ठूलो क्षति पुर्याइसकेको’ र इरानको नेतृत्व तहका ‘धेरै व्यक्ति हटिसकेको’ बताएका थिए ।
‘हामीलाई सबैबारे थाहा छैन, तर धेरैजसो हटिसकेका छन्,’ ट्रम्पले भनेका थिए । उनले अमेरिकासँग इरानका आगामी नेतृत्वको सूचीमा को–को हुन सक्छन् भन्नेबारे पनि ‘धेरै राम्रो जानकारी’ रहेको पनि बताएका छन् ।
यसैगरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि अमेरिकी र इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता अली खामेनी ‘अब छैनन् भन्ने संकेतहरू बढ्दै गइरहेको’ बताएका थिए।
यसअघि सार्वजनिक गरिएका स्याटेलाइट तस्बिरहरूले तेहरानस्थित खामेनी निवास परिसरमा क्षति पुगेको देखाएका थिए। इजरायल र अमेरिकामा आधारित अपुष्ट रिपोर्टहरूमा उनी मारिएको दाबी गरिएको छ।

इरानको खण्डन
इरानले भने इजरायल र अमेरिकाको आक्रमणमा परेका आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता ‘सुरक्षित र स्वस्थ’ रहेको दाबी गरेका हुन् ।
इरानका सर्वोच्च नेताको कार्यालयका जनसम्पर्क प्रमुखले भने खामेनी मारिएको भन्ने समाचार आएपछि त्यसलाई देशका शत्रुहरूको “मानसिक युद्ध” को संज्ञा दिएको एलजजिरा न्युज च्यानलले जनाएको छ ।
को हुन् खामेनी ?
१९ अप्रिल १९३९ मा पूर्वी इरानको मशहदमा जन्मिएका खामेनी १९७९ को क्रान्तिमा प्रमुख भूमिका खेल्ने इस्लामवादी कार्यकर्तामध्ये एक थिए। उक्त क्रान्तिले अमेरिकाको समर्थनप्राप्त शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गरेको थियो।
इरानका पहिलो सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीका नजिकका सहयोगी अली खामेनी नयाँ राजनीतिक संरचनामा क्रमशः उक्लिँदै १९८१ देखि १९८९ सम्म राष्ट्रपति बने। सोही वर्ष खोमेनीको निधनपछि उनी सर्वोच्च नेता नियुक्त भएका थिए।
सत्तामा दशकौं बिताउँदै अली खामेनीले इरानको राजनीतिक र सुरक्षा संयन्त्रमा आफ्नो पकड बलियो बनाए। उनले असन्तुष्टि र विरोधमाथि बारम्बार कठोर दमन गर्दै वासिङ्टन र जेरुसेलमतर्फ कडा धारणा कायम राखे।
इरान मामिलाकी विज्ञ तथा ‘द फरेन डेस्क’ की प्रधान सम्पादक लिसा डाफ्तारीका अनुसार, अयातोल्लाह अली खामेनीको शासन आन्तरिक र बाह्य दुवै क्षेत्रमा निरन्तर कठोरता र दमनले चिनिएको छ। मृत्युदण्डको व्यापक प्रयोग र कडा सामाजिक नियन्त्रणलाई खामेनी नेतृत्वको प्रणालीका प्रमुख विशेषता मानिने उनले बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस्