काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी पीडितको बचत १०० दिनभित्र फिर्ता गर्ने बताएका छन् ।सुनसरीको इटहरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा नेतृत्वको सरकारले सहकारी पीडितका साना बचतहरू १०० दिनभित्रै फिर्ता गर्ने ठोकुवा गरे ।
अघिल्ला सरकारहरूले आफूलाई थुन्नेबाहेक अरु काम नगरेको उनले आरोप लगाए । ‘यसअघिका सरकारहरूले रविलाई थुन्नबाहेक कसैले पैसा फिर्ता पायो ? पाएन । अब रास्वपा नेतृत्वको सरकारले १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्छ,’ उनले भने ।
उनले भूमिहीन समस्या समाधान पनि विज्ञ टोलीको आयोगबाट गर्ने बताए । उनले भने, ‘बालेनजीले भनेजस्तै दिन गनेर भूमिहीनका समस्या समाधान हुन्छ । दलका मान्छेहरूको होइन, विज्ञहरूको शक्तिशाली आयोग बन्छ । त्यो आयोगले सिफारिस गरेको विषय रास्वपाले कार्यान्वयन गर्छ ।’
सभापति लामिछानेले गरीबको झुपडीमा होइन, महलमा डोजर चल्ने बताएका छन् ।
बाटोघाटो बनाउन नीति फेर्ने कुरा २० वर्ष सांसद बनेर पनि नसिकेको उनले टिप्पणी गरे । उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘२० वर्ष सांसद बनेपछि बल्ल बाटो बनाउन नीति फेर्नुपर्छ भन्ने ज्ञान आयो । अब के के गर्नुपर्छ, उपकरण ल्याउनपर्छ कि प्रविधि ल्याउनपर्छ, त्यो सबै रास्वपाले गर्छ ।’


प्रतिक्रिया दिनुहोस्