आज मिति वि सं २०८२ मंसिर १५ गते सोमबार ई सं २०२५ डिसेम्बर ०१ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर शुक्ल एकादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, व्यतिपात योग, वणिज करण । आज बिहान ६ बजेर ३६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ८ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूलाई प्रभावित पारेर काम लिन सकिने तथा कीर्तिमानी काम सम्पादन हुने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । तर, प्रतिष्ठित काम गर्ने मौका मिलेपनि विगतका निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ, जसले अनावश्यक समस्या निम्त्याउने सम्भावना दर्शाउँछ । मित्रहरूको साथ-सहयोगले आत्मविश्वास जागृत गराउनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभदायी समय छ । नियमित कार्यमा जाँगर बढ्नुका साथै नयाँ कार्यारम्भका लागि उत्साह जगृत होला । गरिआएको कामलाई पनि निरन्तरता दिन सकिनेछ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइने योग छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । बौद्धिक तथा रचनात्मक कामले गति लिनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तर, समयमा होश नपुग्नाले खर्चको मात्रा केही बढ्न सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला । अध्ययन-अध्यापनमा ठूलो प्रयत्नका बाबजुद उपलब्धि उठाउन मुस्किल पर्ने योग रहेकोले आजका लागि यसतर्फ समय खर्च नगर्नु उचित हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । स्वास्थ्य सबल रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): श्रमको उचित मूल्यांकन हुने, दैनिक क्रियाकलापमा जाँगर चल्ने, प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको मौका जुर्नुका साथै कतै अतिथिका रूपमा सम्मानसमेत पाइएला । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु हितकर हुनेछ । साथीभाइको सहयोगले रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यस्तता तथा दौडधुप बढ्ने तर न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । पढाइलेखाइ तथा बौद्धिक क्रियाकलाप भने उन्नत रहने देखिन्छ । सन्तान पक्षबाट सुख बढ्नेछ । पारिवारिक समस्या समाधान भएर जानेछन् ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताइरहनेछ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहने योग छ । तथापि, जस्तोसुकै कठिनाइ उत्पन्न भएपनि आत्मविश्वास कायम रहनेछ । अति निकटका मित्रहरूको साथ-सहयोग रहनाले समस्याको समाधान मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । इर्ष्यालुजनले अनावश्यक आलोचना गरी मानसम्मानमा आघातको प्रयास गर्न सक्छन्, त्यसको उपेक्षा गर्नु हितकर हुनेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ । आरोग्यबल बढ्नेछ । साहसिक कर्ममा आकर्षण रहला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएको काम अथक मिहेनतबाट सम्पन्न गर्न सकिने र बिनाप्रतिस्पर्धा लाभ मिल्ने समय छ । शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा केही खर्च हुने देखिन्छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । धन आर्जन गर्ने विशेष मौका जुर्ला । आरोग्यबल बढ्नेछ । सुख-सुविधाको वस्तु खरिदमा केही खर्च हुनसक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सम्भावना छ, सबल स्वास्थ्यका लागि ध्यान दिनुपर्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । नयाँ योजनाको कार्यान्वयन थाती राख्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन प्रतिष्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । सफलताका लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंका कमी-कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि खासै साथ नदेलान् । यात्रागत कार्य गर्दै हुनुहुन्छ भने सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । विशिष्ट व्यक्तित्वसँगको भेटघाटले आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउला । आयबल बढ्नेछ भने मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्ने र बौद्धिक कार्य पनि बन्ने देखिन्छ । मातृशक्तिको सल्लाह, सहयोगले नियमित कार्यमा विशेष उत्साह थपिन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फलदायी समय छ । त्यसै-त्यसै आफू कमजोर भएको अनुभूति हुनसक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउने योग छ । व्यावसायिक कामबाट केही फाइदा भए पनि तत्काल खर्च गर्नुपर्ने सम्भावना छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । चुनौतीका बाबजुद कर्मबल बढ्नेछ । सुख-सुविधाको साधन हातलाग्ने देखिन्छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्