आईजीपी नियुक्तिमा जेनजी सरकारको मूड: २७ कात्तिकपछि अधिकारी होलान् कि केसीले मार्लान् नयाँ प्रहरी प्रमुखमा बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०८२, आईतवार
4 Min Read
Aa

काठमाडौं – गत भदौ २३ र २४ मा भएको ऐतिहासिक जेनजी आन्दोलनपछि देशको शक्ति समीकरणमा प्रत्यक्ष प्रभाव पर्दा नागरिकको शान्ति सुरक्षा र अमन चयमनको मुख्य पहरेदार रहेको नेपाल प्रहरी पनि त्यसबाट अछुतो छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको कार्यकालमा नेपाल प्रहरीको आईजीपी नियुक्त भएका चन्द्रकुवेर खापुङ आगामी कात्तिक २७ गते ३० वर्षे सेवा अवधी पूरा गरेर अनिवार्य अवकाशमा गएसँगै नेपाल प्रहरीले नयाँ आईजीपी पाउने पक्कापक्की छ ।

जेनजी आन्दोलनका बलमा अन्तरिम सरकारको प्रमुख बनेकी सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याल आगामी २१ फागुनको घोषित प्रतिनिधिसभा निर्वाचन र जेनजी आन्दोलनको भावनालाई बुझ्ने पात्रलाई नेपाल प्रहरीको कमान्ड सुम्पने रणनीतिमा छन् । हुन त वरियता अनुसार अहिले पनि नेपाल प्रहरीको नयाँ आईजीपी बन्ने दौडमा उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की पहिलो वरियतामा छन् । गत वैशाख १६ गते डिआईजीबाट एआईजीमा बढुवा हुँदा कार्की पहिलो राजन अधिकारी दोस्रो र डा. मनोज कुमार केसी तेस्रो नम्बरमा रहेका कारण आगामी कात्तिक २८ गते यि तीन जना एआईजी मध्येबाट एक जनाले प्रहरीको नेतृत्व सम्हाल्ने पक्कापक्की छ । जेठ २५ गते एआईजी भएका सिद्विविक्रम शाह भने आईजीपीको दौडबाट अहिले नै बाहिरी सकेका छन् ।

- Advertisement -
Ad imageAd image

अघिल्ला बढुवाका अभ्यास र नागरिक सरकारको अहस्तक्षेपकारी नितिलाई आधार मान्दा कार्की पहिलो नम्बरको एआईजी भएका कारण उनी नै भावी आईजी हुने आकलन भएपनि जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते काठमाडौं उपत्यकाको सुरक्षा स्थिति कोल्याप्स हुँदा उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका कार्कीको असक्षमताकै कारण उनको आईजीपी बन्ने सम्भावना निकै कमजोर रहेको गृहमन्त्रालय निकट स्रोतको दाबी छ । जसरी कात्तिक ९ गते एसएसपीबाट डिआईजी बढुवाको सिफारिस हुँदा पहिलो नम्बरका एसएसपी विश्व अधिकारी छुटे ठिक त्यसैगरी कार्कीको आईजी बन्ने सपनाको पनि अन्त्य हुने गृह मन्त्रालय निकट स्रोतले गोरक्ष पोस्टलाई जानकारी दियो ।

जसरी कात्तिक ९ गते एसएसपीबाट डिआईजी बढुवा हुँदा पहिलो नम्बरमा रहेका अधिकारी डिआईजी बढुवा नभएर दोस्रो नम्बरका भूपेन्द्रबहादुर खत्री पहिलो नम्बरमा सिफारिस भए ठिक त्यसै गरी एआईजीको दोस्रो नम्बरमा रहेका राजन अधिकारी नयाँ आईजीपी नियुक्त हुने सम्भावना सबैभन्दा उच्च छ । आईजीपी बन्ने दौडमा रहेका तीन एआईजीमध्ये अपराध अनुसन्धान, प्रहरीको निति निर्माणमा उच्च स्थान बनाएका अधिकारी अन्तरिम सरकारको पहिलो प्राथमिकतामा छन् । अझ राजनीतिक हस्तक्षेपले निकै थिलथिलो भएको ठानिने प्रहरी संगठन भित्र निष्कलंक र व्यवसायिक प्रहरी अधिकारीको छवि बनाएका अधिकारी नै नयाँ आईजीपी बन्नु स्वभाविक हुने गृह निकट स्रोतको कथन छ । चुडामणि शर्मा लगायत कर फर्स्यौट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक लिएको १ अर्ब ३३ लाख बढीको प्रकरण होस् वा पूर्वमन्त्री सञ्जय टक्लाको आपराधिक साम्राज्यको अन्त्य, गण्डकी प्रदेशका पूर्वमन्त्री एवं गुन्डा नाइके दिपक मनाङे पक्राउ गर्दा होस् वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा होस् उनले गरेका अपराध अनुसन्धानले कानून कार्यान्वयनमा निकै महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी संगठन भित्रै उनको उच्च प्रंससा भैरहेको छ ।

त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडलिस्ट रहेका एआईजी अधिकारी प्रहरी संगठनभित्र भद्र र शालीन अधिकृतका रूपमा परिचित छन् । अझ विशेष ब्युरो लगायतका अनुसन्धानमुलक निकायमा बसेर काम गरेका अधिकारी आफूले गरेका काम प्रचार गर्न नरुचाउने तर, प्रहरी संगठन कस्तो बनाउने भन्ने खाका कोर्ने प्रहरी अधिकारी हुन् । हुन त सुशीला कार्की प्रधानमन्त्री र ओम प्रकाश अर्याल गृहमन्त्री बनेलगत्तै नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्दागर्दै कांग्रेस-एमालेको संयुक्त सरकारले आफू विरुद्ध प्रतिशोध साँधेको भन्दै विभिन्न शक्ति केन्द्र मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई खुशी पार्ने ध्याउन्नमा छन् । यद्यपि केसीले नक्कली भूटानी शरणार्थी प्रकरण अनुसन्धान गरेपनि त्यो केसीको एकल अनुसन्धान नभएको भन्दै त्यसको क्रेडिट केसीले मात्रै पाउन नहुनेमा प्रहरीकै अन्य अधिकृतहरूको जोड छ ।

विगतमा राजनीतिक हस्तक्षेप र प्रशासनिक निकायको चेपुवामा परेको प्रहरीलाई अझ सबल र सशक्त बनाउन यसपटक प्रहरी भित्रकै काविल अफिसरलाई जिम्मेवारी दिनुपर्ने आवाज उठीरहेका बेला प्रहरीभित्रका सबैभन्दा निष्कलंक र व्यवसायिक प्रहरी अधिकृत एआईजी राजन अधिकारी नयाँ आईजीपी बन्ने उच्च सम्भावना देखिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्