आज मिति वि.सं. २०८२ असोज ११ गते शनिबार ई.सं. २०२५ सेप्टेम्बर २७ नेपाल सम्बत ११४५ कौलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल पञ्चमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, प्रिती योग, बालव करण । आज बिहान ५ बजेर ५५ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ५७ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । धार्मिक तथा सामाजिक काममा रुचि जागृत होला । विशेष सभा–समारोहमा भाग लिने अवसर जुर्नेछ भने मानसम्मान पनि पाइएल । आयआर्जनका नया स्रोतहरू थपिने योग छ । नियमित काममा अनुकुलताका साथै दायित्व वृद्धि होला । मनोरञ्जनात्मक क्रियाकलापमा विशेष आकर्षण रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अनुकलता बढ्नुका साथै नियमित कार्यमा जाँगर चल्ने समय छ । स्वास्थ्य सबल रहनेछ भने प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा पनि सुधार हुने देखिन्छ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने योग छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । आँट र आनन्द वृद्धि हुनेछ । मित्रजनसँगको जमघटमा मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आर्थिक अभावले केही सताएपनि पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । आजको दिन विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु होला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । सभा–समारोहमा सहभागी भइ सम्मान प्राप्त हुने सम्भावना छ । शत्रुमाथि विजय प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): केही उतारचढाव आएपनि व्यापार–व्यवसायमा राम्रै फाइदा हुने समय छ । बौद्धिक तथा सिर्जनात्मक काममा विशेष सफलता मिल्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सजग रहनुहोला । विद्यार्थी वर्गका लागि भने अनुकूल समय छ । मिठो भोजन प्राप्त हुनेछ । साथीभाइको सहयोग रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): चुनौतीहरू पन्साउँदै रोकिएका काम पूरा गर्न सकिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने देखिन्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । कुटुम्बको विशेष सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय विस्तार हुने योग छ । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ होला । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): वौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइने समय छ । रोकिएका काम सुरु हुनेछन् भने आयआर्जनका स्रोत बढ्नेछन् । नियमित व्यवसायबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तान पक्षबाट सुख मिल्ने योग छ । यात्रागत कार्यमा साथीभाइको साथ–सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आम्दानीका विभिन्न माध्यम फेला पर्ने समय छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । आरोग्य बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनाले कठिन कार्य पनि सहजै बन्ने देखिन्छ । सुख–सुविधाको वस्तु खरिदमा केही खर्च बढ्न सक्छ । आरोग्यता रहनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल बढ्नेछ तर धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । खर्च कम गर्न गरिएको प्रयास सार्थक नहुनसक्छ, नियमित खर्च वृद्धि हुने देखिन्छ । आयआर्जनकै सवालमा पति–पत्नीबीच असमझदारी तथा विवाद हुने सम्भावना छ, सजग रहनुहोला । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुने नै छ । रोकिएको काम पुनः अघि बढ्ला । चुनौतीका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । यात्रा सुखद र उपलब्धिमूलक रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मिश्रित फलदायी समय छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । खानपानमा विशेष ख्याल राख्नु हितकर हुनेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिनसक्ने योग रहेकोले सतर्क र संयम भइ उद्देश्यप्राप्तिमा लागिपर्नु उचित होला । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदको भाव जागृत होला । यात्रा सुखद रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): केही जोखिम बढेपनि आधा–अधुरा काम अघि बढ्ने र विशेष कार्ययोजनाले मूर्तरुप पाउने समय छ । पढाइलेखाइमा प्रगति र धर्मकर्म एवम् समाजसेवामा विशेष लगाव बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । कृषि र पशुपालनबाट विशेष फाइदा मिल्ने देखिन्छ । यात्रा उपलब्धिमूलक हुनुका साथै नियमित कार्यमा उत्साह जागृत होला । सन्तान पक्षबाट सुख मिल्नेछ । प्रेमभाव बढ्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय शुभदायी छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नेछ भने वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका जुर्ला । परिश्रमको राम्रो मूल्यांकन हुुनेछ । दाम्पत्यसुख बढ्नेछ भने सुख–सुविधाको वस्तु बढ्नेछन् । रसरागको भाव पैदा होला । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्ने योग छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन पारिवारिक समस्याहरू देखा पर्न सक्छन् । मित्रजनसँग पनि मनमुटाव हुने देखिन्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने सम्भावना छ । आफ्नाले नै विश्वासमा पारेर धोका दिने योग छ । यसका बाबजुद केही खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । साहस बढ्नेछ । नियमित कार्यमा जाँगर चल्ने समय छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्