आज मिति मिति वि.सं. २०८२ भदौ २१ गते शनिवार ई.सं. २०२५ सेप्टेम्बर ०६ नेपाल सम्बत ११४५ ञलाथ्व चतुर्दशी-१४, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल चतुर्दशी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, अतिगंड योग, गर करण । आज बिहान ०५ बजेर ४५ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०६ बजेर २१ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बाध्यतावश काममा खट्नुपर्ने दिन छ । दौडधुप तथा ब्यस्तता बढ्नेछ, उपलब्धि भने खासै प्राप्त हुने देखिँदैन । स्वास्थ्यगत समस्याले सताउन सक्छ । अनावश्यक विषयमा टीका-टिप्पणी गर्दा विवाद निम्तने योग छ, बोली र व्यवहारमा नियन्त्रण राख्नु हितकर होला । सन्तान पक्षबाट खोजे जस्तो सहयोग नपाउँदा मन खिन्न रहन सक्छ । आजको दिन खर्च पनि बढ्ने सम्भावना छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभदायी दिन छ । ग्रहको सकारात्मक प्रभावले जोश-जाँगर, उत्साह तथा उमंग देखापर्नेछ । प्रेमको प्रसंग सुखद रहला । दाम्पत्यसुख बढ्नेछ । विशिष्ट व्यक्तिको साथ-समर्थन मिल्नेछ । नियमित कार्यमा सोचेजस्तै सफलता प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक काममा मन जाला । पारिवारिक समस्याको सहजै समाधान मिल्नेछ । धनलाभको योग छ । मित्रजनको साथ–समर्थनले उत्साह वृद्धि गर्ने देखिन्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): काममा जोश जाँगर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने समय छ । साहस वृद्धि होला । प्रेमभाव पनि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ, प्रयास जारी राख्नु उचित होला । घरजग्गासम्बन्धी व्यवसायमा हुनेका लागि लाभको समय आएको छ । धन, मान महत्व बढ्ने देखिन्छ । बौद्धिकताका साथै पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्य सार्थक रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिश्रित फलदायी दिन छ । व्यावसायिक काममा केही समस्या आउने देखिन्छ, तर बिस्तारै कामहरु बन्न थाल्नेछन् । कामकै सिलसिलामा यात्राको सम्भावना छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सार्वजनिक सभा-समारोहमा अधिकार तथा प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रेमभाव बढ्नुका साथै सन्तानसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको विशेष सहयोग प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्ने दिन भएपनि समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधनले साथ नदिने सम्भावना छ, सावधानी अपनाउनुहोला । अनावश्यक खर्च बढ्ने देखिन्छ । व्यस्तता बढेअनुसार परिणाम हत नलाग्ने योग छ । आरोग्यता रहनेछ । रसरागको भाव वृद्धि होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । तथापि, पढाइलेखाइ एवम् बौद्धिक क्रियाकलाप सुस्त रहने देखिन्छ । यात्रागत कार्यमा सोचेअनुसार सफलता मिल्न कठिन होला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । आत्मविश्वास कायम रहला । आरोग्यबल बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्योदयको समय रहेको छ । नियमित कार्यमा जाँगर बढ्नेछ । प्रशंसकहरू बढ्नेछन् । आर्थिक कार्य फलदायी रहनुका साथै पारिवारिक सुख मिल्नेछ । आरोग्यबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनाले जस्तोसुकै दायित्व पूरा गर्न सकिएला । शत्रुपक्ष परास्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा विशेष आकर्षण रहला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अधुरा कामहरू सम्पन्न हुनसक्ने दिन छ । आरोग्यबल बढ्नेछ भने रोकिएको काम मेहनतले बन्नेछ । कतैबाट आर्थिक लाभ हुने समय छ, सुखद परिणाम प्राप्तिका लागि चनाखो भने रहनुपर्नेछ । धार्मिक एवम् सामाजिक कार्यमा संलग्न भइएला, जसले मान-प्रतिष्ठा बढाउनेछ । पैतृक सम्पतिबाट विशेष लाभ मिल्ने योग छ । मिठो भोजन प्राप्त होला । पराक्रम बढ्नेछ । अनावश्यक खर्चमा नियन्त्रण गर्न सकिनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्ने तर श्रमअनुसारको परिणाम हात पर्न कठिन हुने समय छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । काममा अरुको कमै भरपर्दा आत्मसन्तोष मिल्ने देखिन्छ । बोलीमा यथासक्य लगाम लगाउनु हितकर हुनेछ । वादविवादबाट बच्न विशेष प्रयत्न गर्नु उचित होला । शारीरिक तथा मानसिक आलस्यता बढ्नाले नियमित कार्यमा ह्रास आउला । कठोर मिहिनेतले काम बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । जागिरमा विशेष सजगता अपनाउनुहोला । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदिने सम्भावना छ । आम्दानी बढेसँगै खर्च वृद्धि हुने योग छ । आमोदप्रमोदको भाव पैदा होला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने समय छ । बौद्धिक क्षेत्रमा पनि सफलता मिल्नेछ । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । सुखद यात्रको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्य सार्थक रहनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मनमा सद्विचार आउनाले समय उत्साहजनक रहला । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि अवसर आउनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । मान-सम्मान पनि पाइनेछ । महत्वपूर्ण कार्यमा सफलता हातपर्ला । धर्मकर्ममा आकर्षण रहनेछ । भाग्यबल बढ्नेछ । सुख-सुविधाका बस्तु उपहारको रुपमा हातपर्ने योग छ । समस्याको समाधान मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्