आज मिति वि.सं.२०८१ असोज ०३ गते बिहीबार ई.सं.२०२४ सेप्टेम्बर १९ नेपाल सम्बत ११४४ ञंलागा द्धितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण प्रतिपदा, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वृद्धि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:५१ बजे भयो भने सूर्यास्त साँझ ०६:०३ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): केही चुनौती बढे पनि धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । तर छरछिमेकमा चाहिँ केही असमझदारी बढ्ने योग छ, सचेत रहनु उचित हुनेछ । आजको दिन आमोदप्रमोदमा रम्ने माहोल बन्ला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन उत्साहवर्द्धक र मनोरञ्जनपूर्ण रहला । व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । पितृधन लाभ हुने योग पनि छ । व्यावसायिक यात्राको सम्भावनाका साथै वैदेशिक क्षेत्रबाट लाभ उठाउन सकिएला । शुभता र सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्ने समय छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक कामको दायित्व बढ्ने दिन छ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने योग छ । तथापि, आज श्रमको चाहिँ उचित मूल्यांकन हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दौडधुप बढ्ने, अलिक द्विविधामा परिने तथा निर्णायक क्षमतामा कमी आउने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । काममा केही जोखिम उठाउने एवम् प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । तपाईंको कमजोरीप्रति सहयोगीजनले नै टिप्पणी वा गुनासो गर्न सक्छन्, ध्यान राख्नुहोला । चुनौती आइपरेपनि व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । रसरागमा आकर्षण रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । भूमि तथा मातृधनबाट पनि लाभ मिल्नेछ भने विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्ने सम्भावना छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । दाम्पत्यसुख तथा प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ला । रोकिएका काम सम्पादन हुने समय छ । नयाँ जिम्मेवारी हात पार्ने मौका मिल्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ भने कृषि क्षेत्रबाट सामान्य लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । साहस वृद्धि हुनेछ । आफन्तको साथ र यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन केही चुनौतीयुक्त रहने सम्भावना छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, तर जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने योग छ । तथापि, प्रयत्न गर्दा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । लेनदेनमा विवाद आउने सम्भावना रहेकोले सजग रहनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता बढ्नेछ । काममा लगानीको समय छ । केही मात्रामा खर्च बढेपनि प्रयास गर्दा रोकिएका बन्नेछन् । मातापिताको विशेष आशीर्वाद रहनेछ । तर, अरूको भर पर्दा धोकामा परिने सम्भावना छ, सचेत रहनुहोला । लापर्वाही गर्दा बाध्यतापूर्ण काममै समय बित्न सक्छ । शत्रुपक्ष भने परास्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मिश्रित फलदायी दिन छ । पराक्रम बढ्नेछ, तर परिवारजनको भरण-पोषणमा खर्च बढ्ला । उत्साहमा कमी आउने योग छ । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा पनि खर्च बढ्नेछ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्न सक्छ, धैर्य राख्नु उचित होला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने देखिन्छ, तर सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने योग छ । नियमकानूनले साथ दिनाले येनकेन दायित्वचाहिँ पूरा गर्नुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय भएपनि पढाइलेखाइमा राम्रै प्रगति हुने समय छ । आरोग्यता रहनेछ भने मिठो भोजन प्राप्तिको योग छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय राम्रै छ, फलतः विभिन्न अवसर पाइने सम्भावना प्रवल देखिन्छ । सोचेको काम समयमा सम्पादन गर्नका लागि विशेष मिहिनेत भने लगाउनैपर्ला । अन्यथा, अवसर फुत्कने योग छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग गर्ने प्रयत्न गर्नु उचित हुनेछ । नसोचेको फाइदा उठाउन सकिनेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । सुख आनन्द बढ्ला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्