आज मिति वि.सं.२०८१ साउन ३२ गते शुक्रबार ई.सं.२०२४ अगस्त १६ नेपाल सम्बत ११४४ गुंलाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल एकादशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, विषकुम्भ योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५:३५ बजे भयो भने सूर्यास्त साँझ ०६:४० बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्ने दिन छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आर्थिक लाभ प्राप्त होला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्नेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । दाम्पत्य सुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम सम्पादन हुने समय छ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । कसैसँग सामान्य विवाद पर्न सक्छ, सचेत व्यवहार अपनाउनुहोला । सवारी साधनको प्रयोगमा तपाईंले अपनाएको सावधानीले दुर्घटना वा चोटपटकबाट जोगिनुहुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग भने विवाद पर्न सक्छ, संयमता अपनाउनु हितकर होला । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुनेछ । कुनैपनि प्रतिस्पर्धामा विजयी भइनेछ भने शत्रुहरूको चलखेल बढे पनि तिनले हानी पुऱ्याउन सक्ने छैनन् । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्ने योग रहेकोले व्यवहारमा सावधानी अपनाउनुहोला । यशवर्चश्व वृद्धि हुनेछ । मान महत्व बढ्नेछ । ख्याति फैलिनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफूभन्दा वरिष्ठ व्यक्तित्वका साथमा सुमधुर सम्बन्ध रहने समय छ । दिन त्यति बलियो नभएपनि व्यापार–व्यवसायमा लाभ मिल्नेछ । आजको दिन गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर हुनेछ । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने योग छ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन चुनौती र अप्ठ्यारा हटाउन गरिएको प्रयास सफल हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । विजयश्री प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । स्वास्थ्यमा सामान्य समस्या देखापर्ने सम्भावना रहेकोले विशेष सावधाी अपनाउनुहोला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुनसक्छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट अन्ततः राम्रै लाभ हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । दिन मनोरञ्जनपूर्ण हुने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । रसरागमा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । तथापि, मनमा दोधारको अवस्था सिर्जना होला । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । चुनौतीका बाबजुद आर्थिक पक्ष सुदृढ बन्नेछ । लगानी वृद्धि हुनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन मिश्रित फलदायी रहला । पारिवारिक सहयोग प्राप्त हुनेछ । मनोरञ्जनपूर्ण समयको योग रहेपनि कामधन्दा र व्यवसायको चापले गर्दा पैमी–प्रेमिकासंग वा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । दुर्गम स्थान र टाढाको यात्राको सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल बढ्नेछ । परिणाममुखी काममा लगानीको समय छ । नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस होला । आज बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले बोली र व्यवहारमा सक्दो संयमता अपनाउनु हितकर हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): उत्साह र उमङ्ग प्राप्त हुनेछ तर आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नरहला । स्वास्थ्य सबल रहनेछ, काममा पनि फाइदाकै योग छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन्, आम्दानी बढ्नेछ । रसरागमा आकर्षण रहला । सन्तानसुख बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दौडधुप बढ्ने समय छ । जोखिम बढ्ला तर चुनौतीका बाबजुद नसोचेको काम बन्नसक्ने देखिन्छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । पढाइलेखाइमा पनि प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धैर्यले काम लिने प्रयत्न गरे उत्तम हुनेछ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । विलासी कर्ममा आकर्षण बढ्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्