वैकल्पिक गठबन्धनको गृहकार्यमा देउवा-माधव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ बैशाख २०८१, बुधबार
6 Min Read
Aa

काठमाडौं – सत्ता गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले मनलाग्दी गर्न थालेका छन् । आफ्नो स्वार्थपूर्ति गर्न सत्ता सहयात्री दलहरूलाई आश्वासन दिने प्रचण्ड र ओलीले माधवकुमार नेपाललाई धोका दिन थालेपछि सत्तारुढ गठबन्धनमा भाँडभैलो सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादीलाई पूर्वसहमतअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री दिन प्रचण्ड र ओली नमानेपछि गठबन्धन विभाजनको डिलमा पुगेको थियो । तर, प्रचण्ड एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएपछि गठबन्धन तत्कालका लागि जोगिएको छ । तर, गठबन्धनको संकट टरेको भने छैन ।

ओलीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन चाहेका थिएनन् । त्यसैले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उचालेर एकीकृत समाजवादीलाई किनाराको साक्षी बनाउने ओलीको दाऊ थियो । तर, एकीकृत समाजवादीले ओली चाल बुझिहाल्यो र मुख्यमन्त्री नपाए गठबन्धनबाटै बाहिरिने चेतावनी दियो ।

एकीकृत समाजवादी बाहिरिँदा सुदूरपश्चिमको मात्रै नभई बागमती, मधेस र लुम्बिनी प्रदेशका सरकार पनि ढल्ने स्थिति थियो । मधेसको सरकार जोगाउने सर्तमा जसपाले पनि सरकारबाट बाहिरिने सोच बनाइसकेको थियो । सरकार ढल्ने र वैकल्पिक गठबन्धनको सरकार बन्ने देखेपछि प्रचण्ड र ओली अन्ततः एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएका छन् ।

मुख्यमन्त्री दिन तयार भएपछि पनि एमाले अध्यक्ष ओलीले व्यक्तिको विषय झिकेर एकीकृत समाजवादीभित्र खेल्न प्रयास गरेका थिए । तर, एकीकृत समाजवादीले अडान नछाड्ने बरु गठबन्धन परिवर्तन गर्ने नीति लिएपछि ओली झुक्न बाध्य भएका थिए ।

दीर्घ सोडारीलाई मुख्यमन्त्री नस्वीकार्ने बताएको एमाले अन्ततः सोडारीलाई नै समर्थन गर्न पुग्यो । यदि, एमालेले समर्थन नगरेको भए काँग्रेससहितको वैकल्पिक गठबन्धनको सुरुवात सुदूरपश्चिमबाट हुने थियो ।

सत्ता गठबन्धनको संकट तत्कालका लागि पर सरे पनि टरिसकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैकल्पिक गठबन्धनको गृहकार्य जारी राखेका छन् ।

गल्फुटारस्थित कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काको निवासमा गत बुधबार साँझ भएको भेटवार्तामा देउवा र नेपाल वैकल्पिक गठबन्धनको प्रयास जारी राख्न सहमत भएका हुन् । नेपाल प्रधानमन्त्री बन्ने सवालमा गठबन्धन तोड्न र बनाउन तयार छन् ।

पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीप्रति नेपाल असन्तुष्ट छन् । प्रचण्ड र ओलीले फेरि पनि धोका दिन सक्नेतर्फ नेपाल सचेत छन् । एमालेले विगतमा कारबाही गरेको र कांग्रेससहित मिलेर वैकल्पिक गठबन्धन बनाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको भन्दै सोडारीको विकल्प एमालेले खोजेको थियो । सोही कारण सोडारीले बुधबार मुख्यमन्त्रीमा दाबी पेस गर्न सकेका थिएनन् ।

त्यसपछि अघिल्लो बुधबार नै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्री बनाउने प्रदेश संसदीय दलको निर्णयलाई अनुमोदन गरेको थियो । एमालेले एकीकृत समाजवादीभित्र खेल्न खोजेको निष्कर्षसहित सोडारीकै पक्षमा सचिवालयले निर्णय लियो र अध्यक्ष नेपाल गठबन्धन दलहरूलाई सहमतिमा ल्याउन नभई काँग्रेससहितको वैकल्पिक गठबन्धनको तयारीमा लागेका थिए । देउवाले पनि एमालेले समर्थन नगर्ने अवस्थामा कांग्रेसको समर्थन रहने बचन दिएका थिए ।

‘मिलेर अगाडि बढौँ । सुदूरपश्चिममा सोडारीजीलाई समर्थन गर्न हामी तयार छौँ । अगाडि बढ्नुस् ।’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने । कांग्रेसका एक नेताले प्रदेशको मात्रै नभई केन्द्रकै गठबन्धन ढाल्ने गरी छलफल अघि बढेको बताए । देउवा नेपाललाई प्रधानमन्त्री बनाएरै भए पनि वर्तमान गठबन्धन भत्काउने पक्षमा छन् ।

प्रतिबद्धतामा सत्ता गठबन्धका प्रमुख दल प्रतिबद्ध नदेखिएकाले लिखित सहमति आफूहरुले खोजेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘बिनासहमति सहकार्य हुन सक्दैन । सत्ताको साझेदार भएपछि सहमति हुनुपर्छ । लागू गर्ने कुरामा सहयात्री दलमा प्रतिबद्धता देखिएन । त्यसकारण हामीले प्याकेजमै सहमति खोजेका छौँ ।’

एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान गठबन्धनको भविष्य लामो नभएको बताए । उनले विकल्पमा छलफल सुरु भइसकेको दाबी गरे । उनले भने, ‘यो सरकारको आयु लामो छैन । विकल्पबारे छलफल सुरु भइसकेको छ । परिपक्व हुन केही समय लाग्छ ।’

एकीकृत समाजवादीलाई विश्वासमा लिएर अन्य दलसँग छलफल अगाडि बढाउने पक्षमा देउवा देखिएका छन् । कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १० जनमतको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सिट जोड्दा १३८ सीट हुन्छ । जनमोर्चा र स्वतन्त्र सांसद पनि वैकल्पिक गठबन्धनमा सहभागी हुने आकलन नेताहरूको छ ।

गत फागुन २१ गते नयाँ गठबन्धन बनेपछि २२ फागुनमा देउवाले नेपालनिवास कोटेश्वरमै पुगेर नेपाललाई प्रधानमन्त्रीको अफर गरेका थिए । तर, पार्टीमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले वाम सहकार्य अगाडि बढाउनुपर्ने भन्दै दबाब दिएपछि सचिवालय बैठकले नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

स्रोतका अनुसार गत बुधबार साँझ केन्द्र र सुदूरपश्चिमका साथै कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विषयमा पनि दुई नेताबीच छलफल भएको थियो । जसपाले पनि सरकारबारे समीक्षा गर्ने बताएको थियो ।

नेपालसँगको छलफलपछि देउवाले बिहीबार नै पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका थिए । छलफलमा देउवाले सुदूरपश्चिमा एकीकृत समाजवादीलाई समर्थन गरेर जानुपर्ने हुन सक्ने बताएका थिए । उनले नेपालसँग भएको छलफलबारे संक्षिप्त बिफ्रिङ गरेका थिए ।

उनले राजनीतिक कोर्स नयाँ ढंगबाट जान सक्ने बताएका थिए । ‘माधवजीहरूले सुदूरुपश्चिममा गठबन्धनबाटै समर्थन पाउनुभयो भने हामी विपक्षमा बस्छौँ । नत्र हामीले समर्थन गरेर जान्छौँ । राजनीतिक कोर्स नयाँ ढंगले जान सक्छ ।’ देउवाको भनाइ उद्धृत गर्दै एकीकृत समाजवादीका एक पदाधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्

Array